News

बाढी र पहिरोबाट बागलुङका दर्जनौँ बस्ती जोखिममा

बलेवा, १० असार- चार दिनयता भइरहेको निरन्तर वर्षाका कारण बागलुङका विभिन्न ठाउँका बस्ती पहिरोको जोखिममा परेका छन् । बाढी र पहिरोले बागलुङको काठेखोला, बरेङ, तमानखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका बस्ती जोखिममा परेका हुन् ।

खहरेखोला छेउका र सडक आसपासका बस्ती सबैभन्दा बढी बाढी पहिराको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नयाँ खनिएका सडक र स्तरोन्नतिको गरिएका सडकका कारण बस्ती प्रभावित भएको बरेङ गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले बताउनुभयो ।बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सडक बनाउँदा थुप्रिएको माटोका कारण सिङ्गो बस्ती नै जोखिममा परेको छ । उच्च जोखिममा रहेका कैयौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको थापाले जानकारी दिनुभयो ।

यस्तै बागलुङ नगरपालिका–५ मालिकामा पनि कैयौँ घर पहिरोको जोखिममा छन् । मालिकाको चनौटे गाउँका दुदी कुँवर, जुना न्युरे र कमला रेग्मीको घरगोठ जोखिममा परेका छन् । चनौटेमै रहेको राममन्दिरसँगै सामुदायिक भवन पहिराले बगाउने अवस्थामा छ । तमानखोला गाउँपालिकाको लाम्मेलामा रहेको बालविकास केन्द्रको भवन, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा खनिएको नयाँ सडकका कारण जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती नै पहिराको जोखिममा छ । तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिकाका पनि दर्जन बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । (रासस)

Related Articles

Back to top button
Close