News

आज मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान र वामदेवबारे निर्णय हुन सक्ने

काठमाडौं, २९ भदौ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे ।

आजकाे बैठकमा केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गर्नुभएकाे छ ।

स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकिएर भदौ २८ मा बिदा भइसक्नु भएकाे छ । उहाँकाे पुनः नियुक्ति हुन्छ कि हुँदैन भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओली भने कुलमानलाई दोहोर्‍याउन पक्षामा हुनुहुन्न भने नेकपा अर्का अध्यक्ष प्रचण्ड भने कुलमानलाई नै दोहोर्‍याउने पक्षमा हुनुहुन्छ । भारतसँग विद्युत किन्ने सम्झौता गरेकै कारण प्रधानमन्त्री ओली कुलमानदेखि असन्तुष्ट हुनुहुन्छ ।

ऊर्जामन्त्री वर्षमान पुनले पनि प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिन चाहेको बताइन्छ ।

त्यस्तै बैठकले राष्ट्रिय सभामा वामदेव गौतमको सिफारिसकाे बिषयमा पनि निर्णय गर्नसक्ने स्रोतले जनाएको छ । भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारीमा आफू रहेको बताएका थिए ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि पनि बैठकमा छलफल हुने समेत आँकलन गरिएको छ।

Related Articles

Back to top button
Close