News

पेरिस्कानो: निरु त्रिपाठीको अलौकिक यात्रा

यौटा पुस्तक लेख्नु भनेको यौटा तपस्या गर्नु जस्तै हो । यौटा पुस्तक लेख्नु भनेको यौटा सन्तान जन्मउनु जस्तै हो । यौटा पुस्तक लेख्नु भनेको यौटा अभौतिक नयाँ संसार निर्माण गर्नु जस्तै हो ।

मेरो हातमा छ उपन्यास पेरिस्कानो । उपमा दिइएको छ- एक अलौकिक गाथा भनेर ।

सर्जकको नाम छ- नीरु त्रिपाठी । एकदम अपरिचित नाम । देख भेटको त कुरै छाडौं, न कहिल्यै सुनेको, न पढेको ।

पुस्तक पढ्न कारण चाहिन्छ, विना कारण पढिन्न एकाध अपवादलाई छाडेर । कि लेखक चिनेको हुनुपर्यो, कि त लेखन चिनेको हुनुपर्यो । कि रिभ्यूको लागि अफर आउनुपर्‍यो, कि त कसैले जोडदार सिफारिस गरिदिनुपर्‍यो ।

कि बजार हल्ला निकै चर्को हुनुपर्‍यो, यद्यपि म बजार हल्ला र विज्ञापनलाई त्यति महत्व दिन्न । सिण्डिकेटिए प्रायोजित रिभ्यू त त्यसै पत्तो पाइन्छ नै ।

तर मैले नेपालबाट अमेरिका पेरिस्कानो मगाएँ, मगाउँदाको पनि रोचक कथा छ ।

आजकाल सामाजिक सञ्जालमा को मान्छे कहाँ के गर्दैछ पत्तो पाइन्छ, उसैको गतिविधिको पोष्टिङले । नर्थ क्यारोलाइनाका कवि मित्र मनोज प्रधान काठमाडौंबाट फर्किन लागेको फेसबुकबाट थाहा पाउनेबित्तकै मेसेन्जरमा सम्पर्क गरें, ‘कस्तो रह्यो यात्रा ? कहिले फर्किने ? सकिन्छ भने पेरिस्कानो भन्ने उपन्यास ल्याउनोस् न, तपाईंलाई बाटोमा पढ्न पनि हुन्छ, अनि मलाई पठाइदिनु होला !’

मनोजजीले सकारात्मक जवाफ दिनुभयो, तर आजै फर्कने मान्छेले किताब किन्न भ्याउनु होला र ? मनमा यो प्रश्न उब्जिरहेको थियो ।

मनोजजीले ल्याउनुभएछ । उहाँलाई रोचक लागेछ । हुलाकबाट पठाइदिनु भयो । मैले यो उपन्यास मेरो कम्पनीको कन्भेन्सनमा भाग लिन न्यू ओर्लियन्स जाँदा पढ्ने मन बनाएँ । लिएर गएँ पनि, तर पढिनँ । अनि भारत हुँदै नेपाल जान अमेरिकाबाट ५ मार्चमा प्रस्थान गरेपछि मैले पेरिस्कानो पढ्न थालें । बाटोमै सकाउने मनसुवा पूरा भएन ।

भारतमा बृन्दावन आएपछि पेरिस्कानो पढिसकें । अनि मेरो मनमा अनेक कुरा खेल्न थाले । उपन्यासका ठाउँ ठाउँमा लामा लामा अङ्ग्रेजी मैले पचाउनै सकिन । के वाहियात गरेको होला ? विशुध्द नेपाली भाषा मात्र पढ्न जान्नेलाई त यसले मज्जाले भड्काउँछ । कस्को सुझाव होला यो ? लेखिकाकै इच्छा भए पनि सम्पादकले किन माने होलान् ?

पेरिस्कानो शब्दले तानिएर म यो उपन्यास पढ्न ईच्छुक भएको थिएँ । अनि पढेपछि लेखिकासङ्ग सम्पर्क पनि गरें । आजको जमानामा सामाजिक सञ्जालले यो बहुतै सहज बनाइदिएको छ । लेखक लेखिकाले पाठक पाउनु, पाठकसँग सम्वाद हुनु सामान्य भएको छ, जुन मैले लेखन शुरु गर्दा ताक थिएन ।

उनले भनिन्, “पढेपछि अनेष्ट फिडब्याक पाउँ ।”

मलाई उनको एप्रोच मनपर्‍यो । समालोचना गरिदिनोस् भनिनन्, जुन सामान्यतया गरिने आग्रह हो ।

मेरो कान्छो छोरा भन्दा ५ बर्ष कान्छी यी लेखिकाले म लेखक, साहित्यकार भनेर चिनेकै रहिनछन् । दाँतमा ढुङ्गो लागिहाल्यो । मेरो अहमले फणा उठायो । तर नविनतम पुस्ताको साझा समस्या हो यो, नीरुको मात्र होइन । पुराना पुस्ताका लेखक कविका किताबहरु खोजिखोजि पढ्ने पुस्ताका हामी र नविनतम पुस्ताको बीचमा खतरनाक गर्त छ । अनलाइन, ताजा किताब, एकाध चर्चित विदेशी लेखकका नाम र किताबको नामलाई आफ्नो सम्पूर्ण पूँजी ठान्नेहरुको निकै ठूलो झुण्ड देखिन्छन् आजकाल जो त्यसैमा रमाउँन मन पराउँछ । चेतन भगत, पाउलो कोहलो भट्याउन सक्छन् तर रिमालका कविता, समका कथा, भिक्षुको पहिलो लघु उपन्यास, रुपरेखाको युग, भानुका विषेशाङ्कहरुबाट भने पूरै बेखवर । नत्र २०४५ सालमा साझा प्रकाशनबाट पहिलो उपन्यास प्रकाशित गर्ने सक्रिय लेखक र पेरिस्कानो लेख्ने लेखकबीच खाडल कसरी हुन सक्थ्यो ।

शंकर लामिछानेले भूमिका लेखेको शिरिषको फूलले पहिला मदन पुरस्कार पायो स्वयम् लामिछानेले एब्स्ट्र्याक्ट चिन्तन प्याज का लागि पछि पाए । हेनरी मिलर र एनियस निनको निकटता उमेरको साह्रै फरक भए पनि रोमाञ्चकारी रह्यो । अमृता प्रितमले ईमरोज रोजिन् । साहित्यिक मित्रताका लागि उमेर बाधक हुँदैन ।

सामान्यतया मैले सङ्गत गरेका लेखिकाहरु राम्रै लेख्ने भए पनि विचारमा दरा छैनन् । आफ्नो लेखनलाई डिफेण्ड गर्ने ताकत धेरैमा छैन । आलोचना त सुन्न, पढ्न नै चाहँदैनन् । लाइक गर्दिनोस् र कमेण्ट गर्दिनोस्‍मा तीब्र गतिले ब्यस्त छन् ।

कतिपय लेखिका कसैले थाङ्ग्रो नहाले प्रकाशन लायक हुँदैनन् । तिनलाई चिढ्याउन केही गर्नु पर्दैन, जायज कमजोरी देखाइदिए पुग्छ, मेरो किताबमा यतिवटा थेसिस भइसक्यो, बढो आलोचना गर्ने भनेर मुख थुन्न आइपुग्छन् ।

मैले नीरुलाई “अनेष्ट फिड्याक” दिएँ, यसरी-

निरूजी तपाईंको पेरिस्कानो एक अलौकिक गाथा पढें ।

मेरो पहिलो पुस्तक २०४० सालमा प्रकाशित भएको थियो र पहिलो उपन्यास २०४५ सालमा प्रकाशित भएको थियो । तपाईंको पहिलो उपन्यास पढिरहॅंदा मलाई आफ्नो पहिलो उपन्यास प्रकाशनको बेलाको सम्झना झल्झली आयो ।

तपाईंको उपन्यास पढिरहॅंदा र पढिसकेपछि लागेका कुरा यी हुन्;

सुन्दर पक्ष :

१. उपन्यासको विषयवस्तु यस अघि नलेखिएको कुमारी छ । अष्ट्रेलिया जाने र गइसकेपछिका चक्कर पाठकका लागि नयाँ खुराक हुन् !

२. लेखन शैलीमा मिठास छ ।

३. भाषा मीठो र लोभलाग्दो छ ।

आलोच्य पक्ष :

१. भाषिक त्रुटि प्रशस्त छन् । (यो लेखकको भन्दा सम्पादक र प्रकाशकको दायित्व बढी हो ।)

२. कैयन् ठाउॅंमा वाक्य गठन मिलेका छैनन् ।

३. उपन्यासमा पेरिससॅंगको सम्बन्धको शुरूवातमै पेरिसप्रति विना कारण उसका अवगुणलाई वा उसका कमजोरीलाई सहज मान्नु सहज लाग्दैन ।

४. पेरिसले लेखेका इमेलहरू अंग्रेजी भाषामा राखेको ठीक लागेन । त्यो पनि एक दुई हरफ वा परिच्छेद नभई पेजका पेज ।

५. पेरिससॅंग मनुको वास्तविक घुलमिल कम तर आत्मीयता बढी अमिल्दो छ ।

६. नाम्चे बच्ची हो र प्रिया कुकुर हो भन्ने कति ठाउॅंमा खुल्दैन, दुवै बच्ची हुन् जस्तो देखिन्छ ।

६. अष्ट्रेलियामा पिआर पाउनेबित्तिकै अष्ट्रेलियन पासपोर्ट पाइन्छ ?

७. विशेष गरी अष्ट्रेलिया पुगेपछि कथानक खजमजिएको देखिन्छ !

८. मनुको व्यक्तित्व वाइन र चुरोटको पर्याय सहजतापूर्वक देखाउन सक्नु खुवी हो तर कति सहज हो त्यसमा भने प्रश्न चिन्ह लाग्छ ।

९. मनुले कपाल खौरिएको बढी नाटकीय भयो ।

यी र अन्य कमजोरी भएर पनि यो पहिलो उपन्यास पठनीय छ, यसका लागि वधाई छ !

अन्तिम जिज्ञासा: यी कमजोरीका कारक कतै सम्पादक त हैनन् ?

यो मेरो अनेष्ट प्रतिक्रिया हो, मन परेन भने यसलाई बिर्सिदिनु होला । तर आलोचनाले लेखनलाई बलियो वनाउॅंछ ।

मैले नीरुबाट प्रत्युत्तर पाएँ, “राम्रो, म यो फिडब्याकलाई सकारात्मक ढङ्गले लिन्छु । त्यसको लागि कृतज्ञता ।”

भयो त अब ? यति भनाईले नै म लेखिकासँग प्रेममा परें, नीरुसँग होइन ।

उपन्यास तरुण पुस्तामा केन्द्रित छ । आजको तरुण पुस्ताको रुचि के हो त ? सकेसम्म कलेज लाइफ रंगीन बनाउने । ब्याय फ्रेण्ड, गर्ल फ्रेण्ड बनाउने । लिभिङ टुगेदर बस्ने । जिम्मेवारीबाट सकेसम्म टाढा जाने । बिदेशको सपना पाल्ने । बिदेश गएपछि त्यतै सेटल हुनका लागि सबैथोक त्यो आकाँक्षाको पाउमा चढाउन पछि नपर्ने । पेरिस्कानोको कथा यही हो ।

उपन्यासमा अष्ट्रेलिया छ । नेपाल छ । काठमाडौं छ । पोखरा छ । नाम्चे छ । दु:ख छ, सुख छ । प्रेम छ, सेक्स छ । सेक्समा पनि पहिलो सेक्स छ, क्याजुअल सेक्स छ । जीवनका उकाली, ओराली, देउराली सबै छन् । पारिवारिक सुखदुखका पाटा र संस्कार पनि छन् । बाआमाको माया, प्रेम, घुर्की सबै छ ।

तर यो उपन्यास यो कथाले जन्माएको होइन । पेरिस नामको अनाम पात्रले जन्माएको हो, जसलाई लेखिकाले रेल यात्रामा जम्माजम्मी एक पल्ट भेटिन् । त्यो भेट नै गर्भाधारण थियो। उनको मन, मष्तिष्क र हृदयको कोखमा त्यो हुर्कियो र पेरिस्कानोको यौटा सबल पात्रको रुपमा विकसित भयो । लेखिकाले मेरो जिज्ञासामा जवाफ दिइन्:

‘मैले एकदिन ट्रेनमा एक व्यक्तिलाई भेटेँ । मेरो हातमा त्यतिखेर जोन उडको माइक्रोसफ्ट देखि बाहुन डाँडासम्म भन्ने किताब थियो । उसले त्यो किताब देख्ने वित्तिक्कै मसँग कुरा गर्न थाल्यो । उ वास्तवमा नेपालप्रेमी रहेछ र यो किताब पनि पढेको रहेछ । उसले नेपाल र पुस्तकबारे चर्चा गरेको सुन्दा मलाई एकदमै रमाइलो लाग्यो ।

उसको स्टेशन आयो र मसँग हात मिलाउँदै बाई द वे आई एम पेरिस भनेर गयो । मैले मेरो परिचय दिनै भुलेँ । त्यस उपरान्त मैले त्यो व्यक्तिलाई कहिल्यै भेटिन अनि खोज्ने कुरा पनि भएन । समय वित्दै गयो तर मलाई पेरिस नाम चाँहि एकदमै मन पर्र्यो । अनि व्यक्तिलाई खोज्नु भन्दा बरु मन परेको नामलाई अमर बनाउँ भन्ने भयो । मेरो कल्पनामा उसलाई एउटा स्वरुप दिएर कथामा उतारौँ भन्ने भयो अनि विस्तारै एउटा नाम र केही मिनेटको संवादले पूरै उपन्यास तयार भयो ।’

उपन्यास कति बलियो छ, म त्यता जान्न । पठनीय छ । तर मेरो घोर आपत्ति उपन्यासमा प्रयोग गरिएको अङ्ग्रेजी भाषाप्रति छ । अङ्ग्रेजी म बुझ्छु, बुझ्ने अरु पनि होलान् । तर म नबुझ्नेको तर्फबाट वकालत गर्दैछु, तिनीहरु पनि पाठक हुन् नि ! यो अन्याय किन ? त्यसको अनुवाद राख्न सकिन्थ्यो वा पूरै नेपाली नै राख्न सकिन्थ्यो ।

लेखिका पात्रहरुमा डुबेकी छिन्, हाँसोमा हाँस्दै, दु:खमा रुँदै, पीरमा उदास बन्दै । यौटै उपन्यासले उनलाई, उनको जीवन शैलीलाई फरक पारिदियो । उनी पनि कताकति मनुमा रुपान्तरित भइन् । उनको रुचिका अँश मनुमा प्रत्यारोपण भयो ।

हातमा रेड वाइन र चुरोट लिएर गहिरिंदै गएको साँझमा एक्लै रम्ने मनु र नीरुमा साम्यता पनि त छ । लेखिका पूर्णिमाको रात हातमा रेड वाइन लिएर ऐकान्तिकतामा हराउन रमाउँछिन् । तर चुरोट उनको शोख होइन ।

कुनै पूर्णिमाको साँझ हातमा रेड वाइन लिएर हराइरहेको लेखिका भेटे भन्दिने थिएँ, मनुले जस्तो चुरोट हातमा लिंदा कस्तो देखिन्छ हेरौं न ! यो हाइपोथेटिकल प्रश्नको कुनै अर्थ छैन । अष्ट्रेलिया अर्कै महादेश हो, मैले पाइला टेक्न बाँकी सुदूर भूमि ।

सोच्दछु, मनुको मुडुलो टाउको कस्तो विभत्स देखियो होला ? पेरिस त हराइहाल्यो अनन्तमा । मान्छे कुनै न कुनै रुपमा एकदिन हराउँछ नै । कसरी, कहाँ, कहिले भन्ने मात्र बेठेगान हो ।

निरुको उपन्यास पढेर आमाको कस्तो प्रतिक्रिया रह्यो, त्यो उनले प्रकाशित गरिन् । मलाई बढो वितृष्णा अनुभव भयो, आफ्नो उपन्यासका लागि लेखिकाले आमाको उपयोग किन गरिराख्या होला ! वाहियात् !

तर पढ्दै गएपछि मैले सोचेका नकारात्मक सोचहरु फिर्ता लिएँ । आमाले छोरीको लेखनलाई जसरी हेरेकी छिन्, त्यो गजबको छ । यौन चित्रणमा आमा लाज मान्छिन् । खलपात्रको कृयाकलापमा आक्रोशित हुन्छिन् । दु:खमा दुखी हुन्छिन् । अङ्ग्रेजीमा लेखिएका पेजहरु देखेर दिक्क हुन्छिन् । उपन्यासको घटनावलीसँगै उनी बग्छिन्, भिज्छिन् अनि समयको क्रममा ओभानो पनि हुन्छिन् । लेखिकालाई धन्यवाद भन्ने हो कि आमालाई, अलमलमा छु । दुबैलाई आधा आधा ।

लेखन यात्रा अनन्त यात्रा हो, गम्भीर लेखनमा विश्वास गर्नेहरुका लागि । पाठकहरुलाई केही न केही दिइनैरहनु पर्छ समयको अन्तरालमा । नत्र पाठकबाट टाढा भइन्छ अथवा पाठकले चटक्कै बिर्सन बेर लाउन्नन् ।

निरुको उपन्यास लेखन यात्राको प्रारम्भ पेरिस्कानोबाट भयो । यो अलौकिक यात्राको अर्को खुटकिलो, त्यो प्रतीक्षाको विषय भयो । शुभ सन्ध्या, अलौकिक अष्ट्रेलिया !

Related Articles

Back to top button
Close