प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ
काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा अझै पनि कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङलाई पुन नियुक्त गर्ने सम्भावना कामय रहेको ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणले कुलमानलाई भर्खरै विदाई गरेको छ । तर मन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ।
मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधिन नै रहेको र यो पूरा हुने आशा रहेको बताएका हुन्।
उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु।’
घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला नेकपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने विश्ववास व्यक्त गरेका थिए। श्रेष्ठले सोमबार ट्वीटरमा लेखेका छन्‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’
यता श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले फेसबुकमार्फत आपत्ति जनाएका थिए। उनले प्रवक्ताको लविङ काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेर व्यंग्य गरेका थिए। थापाले सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र भन्दै प्रश्न गरेका थिए।