News

चल्न थाले लामाे दूरीका गाडी, बसपार्कमा चहलपहल (फाेटाेफिचर)

काठमाडाैं, १ असाेज । करिब ६ महिनापछि आज (बिहीबार)बाट लामो दूरीका सार्वजनिक यातायात सेवा सञ्चालनमा आएका छन् ।

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि देशव्यापी गरेको लकडाउनसँगै लामो दुरीकाे यातायात बन्द भएको थियो ।बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन  ।

सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको हो । सरकारले लामो दूरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यकाबाट बाहिरिने नाकामा चहलपहल हुन थालेको छ ।

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । कलंकी, कोटेश्वरलगायतका क्षेत्रबाट पनि लामो दूरीका गाडी चल्न थालेका छन् । यद्यपि यात्रुहरुको उपस्थिति भने न्यून छ ।

धबार यातायात व्यवसायी, मजदूर युनियन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको छलफलपछि व्यवसायीहरु लामो दूरीका बस चलाउन तयार भएका थिए । छलफलमा कोरोना महामारीअघि जुन जुन ठाउँमा गाडी खाजा खान रोकिन्थे, ती ठाउँमा स्थानीय तह, ट्राफिक प्रहरी र स्थानीय प्रशासनलाई परिचालन गराएर अनुगमन गराई सञ्चालन गर्ने सहमति भएको थियाे ।

मन्त्रालयले यातायात व्यवस्था विभागलाई स्वास्थ्य मापदण्ड र भाडा लगायतको विषयमा मापदण्ड बनाउन जिम्मा दिएको छ । सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ  ।

काेराेना संक्रमणकाे जाेखि झनै बढेकाे वेला लामाे दूरीका बस सञ्चालन हुनुले संक्रमण झन् फैलने चिन्ता पनि छ । सरकारले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड लागू गर्न निर्देशन दिएकाे छ । जसअनुसार बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउनेछन् ।

यसैकारण तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय गरिएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न भने पाइनेछैन । साथै चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिएकाे छ । यात्रुले पनि अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ ।






Related Articles

Back to top button
Close