News

कुलमानको पक्षमा प्रदर्शन गर्न आएका युवालाई प्रहरीको लाठी, बुट र लछारपछार

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका युवालाई प्रहरीले निर्घात पिटेको छ।

बिहीबार दिउँसो ‘हनरेड (१००) ग्रुप’का अध्यक्षलाई प्रहरीले बबरमहल अगाडि प्रहरीले लाठी, मुक्का र बुट प्रहार गरेको हो।

सो ग्रुपका अध्यक्ष बब्लु गुप्तालाई प्रहरीले पटक पटक झम्टदै कुटपिट गर्यो।

प्रदर्शन गर्न भनी आइरहेका ग्रुपका युवाहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधैं कुटपिट गरेको गुप्ताले बताए।

उनीहरू कुलमानलाई प्राधिकरणमा पुन: नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका थिए।

उनीहरू ७०/८० जनाको संख्यामा मोटरसाइकलमा थिए।

दिउँसो तीन बजेतिर प्रदर्शनमा जाने क्रममा प्रहरीले बीच बाटोमा भ्यान ल्याएर रोक्यो।

अध्यक्ष गुप्ताका अनुसार किन रोकियो भन्ने प्रश्न गरेपछि प्रहरीले ‘माथिको आदेश छ’ भन्दै मोटरसाइकलबाट ओराल्न थाल्यो।

‘हामीले ब्यानर देखायौं, प्रहरीले ब्यानर निकाल्न पाइँदैन भन्दै लछारपछार गर्यो, लखेटी-लखेटी कुटपिट गर्‍यो,’ उनले भने।

भिडिओमा पनि गुप्तालाई प्रहरीले लछारपछार पार्दै लाठी, मुक्का र बुट प्रहार गरेको देखिएको छ।

भेनमा आएको प्रहरीको नेतृत्व प्रहरी निरीक्षकले गरेका थिए। उनले प्रहरीहरूलाई ‘पिट्न’ आदेश दिएको गुप्ताले बताए।

‘मास्क लगाएर हामी सामाजिक दूरी कायम गरेरै कार्यक्रम गर्न चाहन्थ्यौं, तर प्रहरीले साथीहरू सबैलाई कुटेर खेदायो,’ उनले भने, ‘कसैलाई त मोटरसाइकलमै लाठीले हिर्कायो।’

Related Articles

Back to top button
Close