News

संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले शनिबार (भोलि)देखि लागू हुने गरी हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गर्नुभएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close