News

कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडाँै, ११ असार- कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको हो । उहाँको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उहाँको स्वास्थ्यमा समस्या आएपछि शुरुमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा उहाँको आज बिहान ५ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले बताउनुभयो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आईसीयु) मा भर्ना हुनुभएका स्याङजा जिल्ला आँधीखोला–१ का पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गएराति ११.३५ बजे उहाँको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्या भएपछि उहाँलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । (रासस)

Related Articles

Back to top button
Close