News

ललितपुरमा पनि देखियो कोरोना संक्रमण

काठमाडौ, असार ११- ललितपुरमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ । लपु– ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको डा गेलालले बताए । उनले भने, “ उनको असार ८ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।” ती युवकलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरी कन्ट्रयाक ट्रेसिङको काम भइरहेको डा गेलालले जानकारी दिए ।

यसअघि गत जेठ ६ गते इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत २६ वर्षीय चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गर्न कपिलवस्तु र रुपन्देही गएका बेला उनलाई कोरोना सरेको थियो ।

उनी हाल उपचारबाट घर फर्किसकेको गेलालको भनाइ छ । जेठ २७ गते लपुु– २७ सुनाकोठी नख्खुखोला बस्दै आएकी स्थायी ठेगाना सुनसरी जिल्ला धरान घर भएकी २३ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएको थियो । ती महिला किष्ट अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिइन् । उनी हाल पाटन अस्पतालको कोभिड वार्डबाट उपचार गरेर घर फर्किसकेकी छन् ।

यही असार १ गते लपु– २८ हरिसिद्धि स्थायी घर भएकी ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । जेठ २९ गते कुवेतबाट नेपाल फर्किएकी ती महिला स्टाफ कलेज जावलाखेलको क्वारेन्टिनमा बसेकी थिइन् । हाल उनको उपचार पाटन अस्पतालमा भइरहेको छ । असार ७ गते तीन–चार दिन अघि मात्र अफगानिस्तानबाट नेपाल फर्केकी लपु –२६ ढोलाहिटी स्थायी घर भएकी ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । उनको हाल बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ । ललितपुरमा आजसम्ममा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये दुई जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close