News

केपी ओलीको बचाउ गर्दै योगेश भट्टराईले भने– बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस्

११ असार, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका र टिप्पणीहरु उब्जिएका छन् । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री काम विशेषले एकछिन अनुपस्थित रहे पनि बैठकमा आउने बताए । मन्त्री भट्टराईले बालुवाटारमा सञ्चारकर्मीहरुसँग भने, ‘बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस् न ।’

उनले अगाडि भने, ‘प्रधानमन्त्री कामविशेषले एकछिन नआउनुभएको हो, बैठकमा आइहाल्नुहुन्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टीको बैठकमा अनुपस्थिति जनाउने गरेका थिए । बैठकमा आफ्नो आलोचना हुने देखेपछि अनुपस्थित हुने गरेको नेताहरुको गुनासो छ ।

तर, मन्त्री भट्टराईले अध्यक्ष अनुपस्थित भए पनि बैठकमा उठेका प्रश्नहरुको उहाँले जवाफ दिने बताउँदै प्रधानमन्त्रीको बचाऊ गरे । ‘सबै छलफलहरुको बहस नोट लेखिन्छ । बहसनोटमा लेखिएका सबै कुराहरु दुबै अध्यक्षलाई रिपोटिङ हुन्छ । अन्तिममा अध्यक्षले जवाफ दिने क्रममा ती बहस नोटमा कुराहरुको जवाफ दिनुहुन्छ’ मन्त्री भट्टराईले संसदको उदाहरण दिँदै भने, ‘जस्तो– पार्लियामेन्टमा पनि सबै बेलामा प्रधानमन्त्री, मन्त्री जानुहुन्न, त्यहाँ बोलेका कुराहरुको जवाफ दिइन्छ नि । यसलाई त्यो ढंगले बुझ्नुपर्छ ।’

भारतीय हस्तक्षेपवि रुद्ध आवाज

बुधबार सुरु भएर शुक्रबार दोस्रो दिन पुनः बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत एजेण्डाहरुबारे सहभागीहरुले बोल्ने क्रममा सुरु भएको छ । बैठकमा भारतले नेपालको सीमानामा गर्दै आएको हस्तक्षेपविरुद्ध आवाज उठेको छ ।

बैठकमा उठेका विषयहरुबारे जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘देशका विभिन्न भागहरुमा डुवानका जुन समस्याहरु छन्, सीमा क्षेत्रमा विभिन्न आपराधिक, गलत क्रियाकलापहरु गरिन्छन्, यस्तो कुराको रोकथामका लागि मित्रराष्ट्रसँग अलिकति प्रभावकारी ढंगले छलफल अगाडि बढाउनुपर्छ भनेर वक्ता साथीहरुले ती कुराहरु भन्नुभएको छ ।’

यहीवीचमा परराष्ट्रमन्त्रीले नेपालको सीमा समस्याका बारेमा विशेष गरी भारतसँग भएका विभिन्न बेलाका सन्धी सम्झौता र छलफलहरुमा भएका प्रगतिहरुका बारेमा र कालापानीका बारेमा समेत बैठकमा कुरा राखेको मन्त्री भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार तीनपटक पत्र पठाउँदा पनि भारतले बार्ताका लागि चासो नदेखाएको परराष्ट्रमन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराएका छन् ।

Related Articles

Back to top button
Close