EntertainmentNews

लकडाउनको मौका छोपि खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेपछि….

विराटनगर-लकडाउनको समयमा खसीको भनेर बाख्रीको मासु बिक्री गर्दै गर्दा पक्राउ परेका विराटनगरका एक मासु व्यापारीलाई प्रहरीले त्यत्तिकै छाडिदिएको पाइएको छ ।विराटनगर महानगरपालिका–३ बरगाछीबाट यही असार ६ गते दिउँसो पक्राउ परेका मासु व्यापारी श्याम थापालाई एकरात थुनेर प्रहरीले बिना कारबाही भोलिपल्ट छाडिदिएको खुलेको हो ।श्याम मिट पसल नामको मासु पसलमा खसीको भन्दै बेच्न राखेको १० किलो बाख्रीको मासु सहित प्रहरीले उनलाई पक्राउ गरेको थियो । थापा खसीको भन्दै बाख्रीको मासु बिक्री गरेको कसूरमा दुई वर्ष अघि पनि कारबाहीमा परिसकेका व्यापारी हुन् ।

मासु बिक्रीको विषयलाई लिएर पटक–पटक विवादित बन्दै आएका उनलाई पछिल्लो समय सीआरभी पोस्ट भृकुटी चौकको टोलीले पक्राउ गरेर बाख्रीको मासुसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो । अन्न्पुर्ण पोष्टमा खबर छ । तर उनलाई विभिन्न दबाबसँगै प्रहरीका अधिकारीको मिलेमतोमा एकरात मात्रै हिरासतमा राखेर कारबाही नगरिकन छाडिएपछि मोरङ प्रहरीप्रति स्थानीय सशंकित बनेका छन्।उपभोक्त ठगीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमार्फत कारबाही अघि बढाउनु पर्नेमा व्यापारीलाई त्यत्तिकै उन्मुक्ती दिएर प्रहरीले बद्मासी गरेको स्यानीयको भनाइ छ । यसअघि प्रहरीको सहयोगमा यही कार्यालयले उपभोक्ता ठगीमा चलाएको मुद्दामा थापा धरौटीमा छुटेका थिए । निक्कै दिन हिरासतमा बसेर धरौटीमा छुटेपछि पनि खसीको भन्दै बाख्रीको मासु बेच्न नछाडेको पाइएको एक प्रहरीले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले प्रमाणसहित पेस गरिएमा खसीको भनेर बाख्रीको मासु बिक्री गर्नेलाई उपभोक्ता ठगीमा मुद्दा चलाउन सकिने जानकारी दिए । उनले पछिल्लो समय यस्ता उजुरी वा मुद्दा कार्यालयमा नरहेको र प्रहरीले पनि कारबाहीको विषयलाई लिएर कुनै समन्वय नगरेको बताए । थापालाई बिना कारबाही छुटाउन केही व्यक्ति जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनीहरुले केही प्रहरी अधिकारीहरुसँग कुराकानी गरेपछि मासु व्यापारी थापालाई बिना कारबाही छाडिएको स्रोतको भनाइ छ । पसलमा राखेर उपभोक्तालाई बिक्री गर्न भन्दा पनि केही व्यक्तिहरु मिलेर मासु खानलाई पाठी (बाख्री) काटेको पाइएकाले छाडिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको दाबी छ । उनले बाख्रीको मासु बेचेको कसूरमा व्यापारी थापालाई यसअघि कारबाही गरिएको कुनै रेकर्ड प्रहरीमा नभएको पनि बताए ।

तर खसीकै जसरी बिक्रीका लागि झुन्ड्याइएको अवस्थामा प्रहरीले बाख्रीको मासु पसलबाटै बरामद गरेको प्रत्यक्षदर्शीको भनाइ छ । मासु बरामद भएसँगै खसीको हो भन्ने प्रमाण पु¥याउन नसकेपछि मात्रै व्यापारी थापालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका समयमा उनले होटलबाट माग आएकाले बाख्री काटेर मासु पु¥याउनु पर्ने अवस्था आएको बताएका थिए ।
उनले कुन होटलबाट बाख्रीको मासुको माग आएको थियो भन्ने यकिन गरेनन् । प्रहरी अधिकारीको मिलेमतोमा थापालाई छाडेको स्रोतको भनाइ छ । थापाले छुटे लगत्तै आफ्नो पसल सञ्चालनमा ल्याएका छन् । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले कोरोना त्रासका कारण सबै चिजमा अभावको सामना गरिरहेका सर्वसाधारणलाई झुक्याउँदै खसीको भनेर बाख्रीको मासु बेच्नु आफैमा अपराध भएको बताए । विराटनगरमा खसीको मासु प्रति किलो एक हजार रुपैयाँ छ ।

Related Articles

Back to top button
Close