News

थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौँ । २४ घण्टामा विभिन्न जिल्लामा गरी ५५४ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कूल ५५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको छ । अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा यो भाइरस फैलिसकेको छ । हालसम्म कोरोना निको हुनेको सङ्ख्या दुई हजार ८३४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कुल संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष गरे १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ ।

Related Articles

Back to top button
Close