Sport

बार्सिलोनालाई उपाधि होडमा धक्का

भिगो — बार्सिलोना स्पेनी ला लिगामा शनिबार सेल्टा भिगोसँग २–२ को बराबरीमा रोकिएपछि उपाधि होडमा थप धक्का लागेको छ । बार्सिलोनाले दुई अवसरमा प्राप्त अग्रतालाई गुमाएको थियो ।

बार्सिलोनाका लागि दुवै गोल लुइस स्वारेजले गरे । सेल्टा भिगोका तर्फबाट फेडेर स्मालोभ र इगो आसपसले गोल गरे । खेल सकिन दुई मिनेट अगाडि आसपसले फ्रि किकबाट गोल गरेका हुन् ।

यो खेल अगाडि बार्सिलोना रियल म्याड्रिडविरुद्ध हेड टु हेडको आधारले समान अंकमा पनि पछाडि थियो । तर अब रियलले आइतबारको खेलमा इस्पान्‍योललाई हराए शीर्ष स्थानमा दुई अंकको अग्रता खोल्न सक्नेछ । ला लिगाको अंकतालिकामा ३२ खेलबाट ६९ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको रियल म्याड्रिड ६८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीले खेल रोकिन अगाडि बार्सिलोना रियलमाथि दुई अंकले अगाडि थियो । अब बार्सिलोनाको अर्को खेल तेस्रो स्थानको एटलेटिको म्याड्रिडविरुद्ध रहेको छ ।

शनिबारका अन्य खेलमा एथलेटिकोले एलाभेसलाई २–१ ले हरायो ।

Related Articles

Back to top button
Close