News

मनको बाघले कसरी खान्छ

वनको बाघले होइन, मनको बाघले खाएछ ।’ गाउँघरतिर सुनिने यस्तो भनाईको अर्थ हुन्छ, अनावश्यक मनमा डर पाल्नु ।

शरीरमा सामान्य गडबडी हुनसाथ धेरैले सोच्छन्, ‘अहो, मलाई खतरा रोग लागेजस्तो छ ।’ जबकी यस्ता समस्या आफै निको हुन्छ । तर, निको हुने बेलासम्म उक्त व्यक्तिको मनमा अनेक कुरा खेल्छ । अनेक शंका–उपशंका पैदा हुन्छ । यसरी तनको होइन, मनको डरले पो दुःख दिन्छ ।

धेरै यस्ता व्यक्ति हुन्छन्, जसले हरक्षण आफुलाई कुनै रोग पो छ कि भनेर सोचिरहेका हुन्छन् । शारीरिक रुपमा उनीहरु ठीक हुन्छन् । कुनै रोग लागेका हुँदैन । लागेपनि सामान्य रोग हुन्छ । तर, उनीहरुलाई हरक्षण डर लागिरहन्छ, ‘मेरो रोग भयांकर हो कि ?’

स्वास्थ्यप्रति सचेत र सर्तक हुनु ठीक हो । तर, आतंकित हुनु उचित होइन । यसले मानसिक रोगी बनाउँछ ।

कुनै व्यक्तिको शरीरमा केही गडबडी आयो । मानौं त्यो सामान्य समस्या हो । तर, उनीहरु सोही समस्यालाई लिएर औधी चिन्तित हुने गर्छन् । यसलाई मनोचिकित्सकहरुले ‘हाइपोकोण्ड्रिआसिस’ भन्ने गरेका छन् ।

शरीरमा देखिएका सामान्य लक्षणलाई उनीहरुले क्यान्सर वा यस्तै भयानक रोग हो कि भनेर शंका गर्छन् । यसरी मनको बाघले लखेट्न थालेपछि भने उनीहरुको मानसिक अवस्था खराब हुन थाल्छ । उनीहरुलाई निद्रा लाग्दैन । भोक लाग्दैन । मनमा बेचैनी हुन्छ । औडाह हुन्छ । सामान्य कामकाजमा मन जाँदैन । जाँगर चल्दैन । अल्छी लाग्छ ।

मुटुको ढुकढुकी बढ्छ । मुख सुख्खा हुन्छ । राती पसिना आउँछ । पिसाब आए जस्तो हुन्छ । हातखुट्टा झमझमाए झै हुन्छ ।

जति जति चिन्ता बढ्दै जान्छ, उनीहरुमा मानसिक समस्या थपिने भय रहन्छ । त्यही चिन्ता क्रमस डिप्रेसन, एन्जाइटी जस्तो समस्यामा बद्लिन्छ । अन्ततः डिप्रेसन, एन्जाइटीबाट मुक्त हुन निकै कठिन हुन्छ ।

यसरी मानसिक समस्या सुरु भएपछि उनीहरुले आफ्नो शारीरिक पीडालाई अरु जटिल ठान्न थाल्छन् । मनोचिकित्सकहरु भन्ने गर्छन्, ‘रोग लागेका झन्डै ८० प्रतिशतमा डिप्रेसन र एन्जाइटीको समस्या पनि देखिने गर्दछ ।’

यी मनरोगीहरु अस्पताल धाउन थाल्छन् । चिकित्सक, धामीझांक्री जसको अगाडि पनि आफ्नो समस्या देखाउन थाल्छन् । पटक पटक स्वास्थ्य परीक्षण गराउँछन् । उनीहरुको स्वास्थ्य स्थिती ठीक भएपनि त्यसमा ढुक्क हुँदैनन् । वा विश्वास गर्दैनन् । यसरी औषधि उपचारको नाममा उनीहरुले भएभरको खर्च गर्न थाल्छन् ।

यस्तो समस्या कस्ता व्यक्तिलाई हुन्छ त ?

यो पुरुष, महिला, बालबच्चा, बुढाबुढी, वयस्क, तन्नेरी जो कोहीलाई हुनसक्छ । यसमा उमेर र अवस्था भन्दा पनि उनीहरुको मानसिक व्यवहार कस्तो छ भन्ने कुरा निर्भर गर्छ ।

सानो कुरामा अति संवेदनशिल, स्वास्थ्यप्रति बढी नै सचेत व्यक्तिहरुमा यस किसिमको समस्या हुनसक्छ । आत्मकेन्द्रित, कमजोर मनोबल भएका, हीनताबोधले ग्रस्त व्यक्ति यसका शिकार हुन्छन् । यसमा उनीहरुको परिवार, साथीभाई, समाज पनि जिम्मेवार हुन्छ । कतिपय साथीभाई आफन्तले पनि रोगको बारेमा अनावश्यक भ्रम फैलाइहेका हुन्छन् । कुनैपनि कुरालाई सामान्य रुपलि लिने भन्दा पनि गंभिर रुपमा प्रस्तुत गर्ने बानी हुन्छ ।

अब के गर्ने ?

उनीहरुको लागि सही परामर्श नै भरपर्दो र प्रभावकारी हुन्छ । उनीहरुलाई के भएको हो र त्यो कति सामान्य हो भन्ने कुरा बुझाउन सक्नुपर्छ । आत्म मनोबल बढाउने, उत्साह जगाउने खालको गतिविधिमा संलग्न गराउनुपर्छ ।

यसमा सबैभन्दा ठूलो भूमिका उनका परिवारले निर्वाह गर्न सक्छन् । परिवारले उचित रेखदेख गर्ने र सही परामर्श दिने गनुपर्छ । घरमा यस्तो वातावरण बनाइरहनुपर्छ कि, जसको कारण उनीहरुले आफुलाई कमजोर, रोगी ठान्न नपाओस् ।

डिप्रेसन वा एन्जाइटीकै अवस्थामा भने मनो परामर्शदाता, चिकित्सकसँग भेट्नु उचित हुनछ ।

Related Articles

Back to top button
Close