News

सिलौटोमा कुँदिएको संगीता देवीको भाग्य !

१४ असार, काठमाडौं । दिन आधा ढल्किसकेको छ । असारे झरी कुनबेला दर्किने हो, पत्तो छैन । लकडाउन आधा खुलेको आज १४ दिन भयो ।

ट्याक…ट्याक……। संगीतादेवी आफ्नै सुरमा ढुंगामा बुट्टा कुँदिरहेकी छिन् । यही बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको चार सदस्यीय परिवारको जिन्दगी ।

‘सिलौटो आफैं बनाउनुहुन्छ ?’ बर्कोले मुख छोपेकी संगीताले आफैं बनाउछु भन्ने संकेत गरिन् ।

‘ढुंगा कहाँबाट ल्याउनुहुन्छ ?’

‘इन्डियाबाट ।’

‘कसरी ल्याउनुहुन्छ इण्डियाबाट काठमाडौंसम्म ?’

तेस्रो प्रश्नमा उनी अलिकति खुलिन्, ‘रक्सौलबाट वीरगञ्जसम्म टाँगामा ल्याउने हो । टाँगामा थोरै मात्र ल्याउन पाउँछ, थोरै ल्याउँदा भन्सार लाग्दैन ।’

‘ वीरगञ्जबाट काठमाडौं नि ?’

‘नाइटबसमा ल्याउने हो । कहिलेकाहीँ तरकारी बोक्ने गाडीमा, कहिले सामान आउने ट्रकमा ।’

यसैगरी १४ वर्ष बितिसकेछन् संगीताले काठमाडौंमा ढुंगा कुँदेर सिलौटो बेच्न थालेको ।

संगीता देवीले बुट्टा भरेर आकर्षण बनाउने ढुंगो मात्रै भारतबाट आएको होइन, स्वयं उनी पनि हातको सीप बोकेर भारतबाटै नेपाल भित्रिएकी हुन् । संगीताको माइत भारत हो, श्रीमान नेपाली नागरिक हुन् ।

सिलौटो बनाएर बेच्ने उनीहरुको पुख्र्यौली पेशा जस्तै रहेछ । संगीताका सासू–ससुराले पनि काठमाडौंमै यही पेशा व्यवसाय गर्थे ।

संगीताका श्रीमान रोजगारीका सिलसिलामा भारतका धेरै ठाउँमा घुमे । दरभंगा पुगेका बेला संगीतासँग भेट भयो । पहिलो भेटबाटै आकर्षित भएका उनीहरुले जीवनसाथीका रुपमा एकअर्कालाई स्वीकारे ।

संगीता १५ वर्षअघि नेपाली बुहारी बनेर सर्लाही आइन् । सर्लाहीमा उनीहरुको आफ्नै जग्गाजमीन थिएन । खोला किनारमा साहुको जग्गामा टहरा हालेर बसेका थिए । जग्गाको भाडाबापत उनीहरुले साहुलाई केही काम सघाइदिनुपथ्र्यो ।

पछि उनीहरु सर्लाहीबाट वीरगञ्ज सरे । त्यहाँ सिलौटो बनाउने काम गरे । त्यतिबेलै संगीताका सासू–ससुराले वीरगञ्जबाट काठमाडौंमा ढुंगा ल्याएर सिलौटो बनाउन थालेका थिए ।

‘काठमाडौंमै राम्रो व्यापार हुन्छ भनेपछि हामी पनि १४ वर्षअघि यहाँ आयौं,’ संगीताले सुनाइन्, ‘छोराछोरी यहीँ जन्मिए ।

सासू केही वर्ष पहिले बितिसकिन् । ससुरा बा सर्लाहीतिरै छन् ।

‘श्रीमान के गर्नुहुन्छ ?’

संगीताको अनुहारको रंग एकाएक फेरियो । एकैछिन मौन भइन् । सिलौटोतिर हेरिन् । ढुंगो कुँद्ने कुटो भुर्इंमा राखिन् ।

‘उहाँ बिरामी हुनुहन्छ, कोठामै ।’ संगीताले मलीन स्वरमा भनिन् ।

श्रीमानलाई टीबी लागेको रहेछ ।

सिलौटो बिक्री नभएको दिन भोकै बस्नुपर्ने संगीताको परिवारको कथा जनवादी गायक जीवन शर्माको गीतसँग मिल्दोजुल्दो रहेछ ।

छोरालाई पोहोर कालले लग्यो । दुःखीको जीवन झन् दुःखी भयो…..

केही वर्षअघि उनले ६ वर्षकी छोरी गुमाइन् । लामो समय ज्वरो आएर सुतेकी छोरीले राम्रो उपचार नपाउँदा संसार छाडेको उनी बताउँछिन् । साथमा अहिले २ छोरा छन् । जेठो ९ वर्षको र कान्छो ३ वर्षको ।
०००

गफगाफकै क्रममा ‘एकपटक कोठामा पुगेर आउँछु’ भन्दै संगीता जुरुक्क उठिन् ।

छेवैमा गीताजी नाम गरेकी सिलौटो व्यापारी छिन् । ‘मेरो सिलौटो एकैछिन हेर्देउ है, म बुढालाई पानी खुवाएर आउँछु’ उनले भनिन् ।

संगीता एयरपोर्टको पूर्वी भेगतिर बाटोतिर लागि लागिन् । हामीले पछ्यायौं ।

उनी एउटा झुप्रैझुप्राको बस्तीतिर लम्किइन् । बाटामा सानो छोरा साथीसँग खेलिरहेका भेटिए । दौडिँदै आमाको हात समाउन आइपुगे । आमा छोरा साँघुरो बाटोबाट भित्र छिरे ।

एकछिन अघिसम्म पानी परे पनि यतिबेला टन्टरापुर घाम लागिसकेको छ ।

टहरोको ढोका खुल्लै रहेछ । सेपिलो कोठामा संगीताका श्रीमान् सुतिरहेका थिए । असारे झरीले रुझेको भित्तामा पानी रसाएको देखिन्थ्यो । टीनको छानामा सीएफएल बलिरहेको थियो ।

के खाने भनेर भनेर संगीताले श्रीमानलाई सोधिन् । श्रीमान केहीबेर बोल्न सकेनन्, उनलाई एकोहोरो खोकी लाग्यो । केही नखाने भनेर मुन्टो हल्लाए ।

जारको पानी सारेर संगीताले ओछ्यानको छेउमा राखिदिइन् । ‘ल म जान्छु, केही खानुहुन्छ कि भनेर आएको ।’

श्रीमानले हल्का मुन्टो हल्लाए ।

अभाव र तनावले भरिएकी संगीता सिलौटो बेच्न जडिबुटी चोकतिर फर्किइन् ।

लकडाउन गयो, बज्रपात थपियो !

लकडाउनका बेला संगीतालाई सरकारले दिएको अलिकति राहतले साँच्चै नै ‘राहत’ महसुस भयो । बुढासँग नेपाली नागरिकता थियो । त्यही देखाएपछि वडा कार्यालयले चामल दियो । राहतबाट आएको चामल र सिलौटो बेचेर बाँकी रहेको रकमले उनीहरुले जसोतसो ३ महिना कटाए । वडा कार्यालयबाट २ पटक राहात पाएको र एकपटक एउटा संस्थाले दिएको उनी बताउछिन् ।

अहिले लकडाउन खुलेपछि संगीताको परिवारमाथि बज्रपात थपिएको छ ।

श्रीमान् ओछ्यानमा थलिएका छन् । इण्डियाबाट ढुंगा ल्याउने मुख्य मान्छे नै थलिएपछि अब ढुंगा कसरी ल्याउने ? अब थोरै ढुंगा मात्र बाँकी छन्, ती पनि सकिएपछि कसरी परिवार पाल्ने ?

उनका श्रीमानले दिनमा १० वटासम्म सिलौटा बनाउथे । उनी ६ वटासम्म बनाउँछिन् । अहिले श्रीमान काम गर्न सक्दैनन् ।

‘सरकारी स्कूलमा छोरो पढ्छ, खर्च धेरै लाग्दैन । तर, समस्या खानकै हो’ संगीता भन्छिन्, ‘मैले त दिनमा एकपटक मात्रै खाए पनि हुन्छ, बिरामी बुढा र छोराहरुलाई के खुवाउने ?’

संगीताले श्रीमानलाई एकपटक टिचिङ अस्पताललमा लगेर जचाएकी रहिछिन् । अस्पतालले औषधि दिएको छ । त्यो खुवाएकी छिन् । उपचारमा ७ हजार रुपैयाँ खर्चिसकेको उनी बताउँछिन् । सुन्दा ७ हजार रुपैयाँ के हो ? तर, उनको परिवारका लागि यतिबेला सात सय रुपैयाँ पनि ठूलो हो ।

पैसाको अभाव र टीबीको उपचारमा सरकारले दिने सहुलियतबारे जानकारी नभएका कारण उनले थप उपचारका लागि श्रीमानलाई अस्पताल लैजान सकेकी छैनन् ।

संगीताको परिवारमाथि परेको अर्को बज्रपात हो– कोठाभाडा ।

‘घरबेटीले कोठा छोडिदिनु भनेको धेरै भइसक्यो, अब यो ठाउँ एयरपोर्टले भत्काउँछ रे’ संगीताले भनिन्, ‘अहिले बुढाको यस्तो अवस्था छ, बिरामी बुढा र साना छोराहरु लिएर म कहाँ जाउँ ?’

छोरीको मृत्युमा होस् या श्रीमानको उपचार, या घर खर्च चलाउने संघर्षमै किन नहोस्, आफैंले खोपेको सिलौटोको बुट्टामाथि संगीताले धेरै आँशु बगाइसकेकी छिन् ।

उनी भन्छिन्, ‘कति रुने ? आज एउटा समस्याले रोयो, भोलि अर्को समस्या आउँछ ।’

Related Articles

Back to top button
Close