News

के सलह जस्तै किरा–फट्यांग्रालाई मान्छेले आफ्नो भोजन बनाउनेछ ?

कुनैदिन विश्वले चरम खाद्य संकट झेल्नेछ र भोकमरीको स्थिति आउनेछ । चामल, गहुँ, मकै जस्ता मूख्य खाद्यन्न सर्वत्र अभाव हुनेछ । त्यसपछि पेट भर्न वा बाँच्नका लागि मान्छेले किरा–फट्यांग्रालाई आफनो भोजन बनाउनेछ । के हामी आज यस्तो दिनको कल्पना गर्न सक्छौं ?

जुन कुरा हेर्दै दिगमिग लाग्छ, त्यसलाई कसरी भोजनको रुपमा ग्रहण गर्न सक्नेछौं ? झट्ट सोच्दा यस्तै लाग्छ । तर, अहिले जसरी भोजन–संस्कारको विकास र यसबारे खोज–अभ्यास भइरहेको छ, त्यसलाई हेर्दा भोलिका दिनमा सलह जस्ता असंख्यौं किराफट्यांग्रा हाम्रो भान्साको खान्की बन्ने कुरालाई नकार्न सकिदैन ।

त्यसो त विश्व फुड मेनुमा यस्ता किराफट्याङ्ग्राको भेराइटी पनि समावेश हुन थालेको छ । कतिपय ठाउँ यस्तै परिकार विशेषका लागि चिनिदैछ । अझ घतलाग्दो कुरा त के भने, यी परिकारमध्ये सलह जस्ता फट्यांग्रा प्रजाति सर्वाधिक रुचिकर मानिएको छ ।

अहिले हामी एकसाथ दुई किसिमको परिस्थिती झेल्दैछौं । एक त, लकडाउनका कारण अन्न–उत्पादनको काम नराम्ररी प्रभावित भएको छ । खेतीपातीको मूख्य सिजनमै किसानहरु अनुत्पादक रुपमा घरभित्र थुनिएका छन् । अर्कोतिर सलह जस्ता फौजी किरा र लगातारको झरीले अन्नबाली सखाप पार्दैछ । यावत् प्रतिकुलताले भोलिका दिनमा विश्वले खाद्य संकटको सामना गर्नुपर्ने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी जलवायु परिवर्तनले गर्दा अन्न-उत्पादनमा ह«ास आउने क्रम सुरु भइसकेको छ । अर्कोतिर रासयनिक मल, विषादी आदिको कारण माटोले आफ्नो उर्बरा शक्ति गुमाउँदै गएको पाइन्छ । कृषि विज्ञहरुका अनुसार माटोलाई आवश्यक पर्ने पोटास घट्दै जानु र एसिडको मात्रा अत्याधिक बढ्नुले माटोले उत्पादन क्षमता गुमाउँदै गएको छ ।

एकातिर खाने मुख अर्थात जनसंख्या बढ्दै जानु, अन्न–उत्पादनलाई अनेक भेराइटी बनाउन प्रयोग गरिनु, माटोको उर्वराशक्ति घट्दै जानु, जलवायु परिवर्तन हुनु जस्ता अनेकन कारणले भोलिका दिनमा हामीले खाद्य संकट झेल्नुपर्ने हुनसक्छ ।

एक अध्ययन अनुसार मूख्य खाद्यन्नको रुपमा रहेको धान, चामल, मकै जस्ता अन्न उत्पादन समेत घट्दै गइरहेको छ । त्यसमाथि अहिलेको जस्तो प्राकृतिक विपत्तीले यसलाई थप असर गरिरहेको छ । कोरोनाको कारण विश्वव्यापी रुपमा गरिएको लकडाउन होस् वा अन्नबालीमा सलहको तिब्र आक्रमण, यसले हाम्रो खाद्य भण्डारमा संकट पैदा गर्ने जोखिम छँदैछ ।

त्यसो त विगतमा सलह जस्ता किराकै कारण भोकमरीको स्थिति भोग्नुपरेको कथाहरु सुन्न÷पढ्न पाइन्छ । नेपालमा पनि सलहले बालीनाली सखाप पारिदिएपछि भोकमरी लागेको घटनाहरु सुन्न पाइन्छ ।

घतलाग्दो कुरा के भने, विगतमा सलहकै कारण भोकमरीको अवस्था आएको पढ्न÷सुन्न पाइन्छ भने भोकमरीबाट बच्न सलहलाई मान्छेले आफ्नो भोजन बनाएको उदाहरण पनि पाइन्छ । कुनैबेला खाद्य संकटबाट जुधिरहेको यमन र ओमानले सलहलाई नै प्रोटिनको रुपमा खाने गरेको इतिहास छ ।

किरा-फट्याङ्ग्राको परिकार

केही समयअघि बिबिसी हिन्दीको अनलाइन संस्करणमा एउटा फिचर छापिएको थियो, किरा–फट्याङ्ग्रको भोजन सम्बन्धी । त्यस अनुसार भविष्यमा मानव समुदायले ‘सुपर फुड’को रुपमा किरा फट्याङ्ग्रालाई आफ्नो खान्की बनाउनेछ ।

पश्चिमी देशका मानिसहरुले किरा फट्यांग्रालाई सम्पूर्ण प्रोटिनको स्थायी स्रोतको रुपमा हेर्न थालेको पाइन्छ । यी साना किरामा पशुपंक्षीको प्रोटिन जस्तै अमिनो एसिड हुन्छ, जो मानव आहारका लागि आवश्यक हुन्छ ।

बिबिसीमा प्रकाशित फिचरमा लेखिएको छ, ‘किरामा पनि फट्याङ्ग्रा सबैभन्दा लोकप्रिय हुनेछ । यसको प्रयोग आटा र स्न्याक्समा हुनेछ ।’

के हुन्छ फट्याङ्ग्रामा

फट्याङ्ग्रामा उच्च प्रोटिनका साथसाथै आइरन, क्याल्सियम र भिटामिन बि–१२ भरपुर मात्रामा हुन्छ । थाइल्यान्डको बजारमा यस्तो खान्की बिक्री हुन्छ । र, उनीहरुको ग्राहक भने गैर थाइ छन् ।

हुन त थाइल्यान्डका बासिन्दा फट्याङ्ग्रा बाहेक अन्य किरा खान पनि अभ्यस्त छन् । उनीहरु डिप फ्राइ स्न्याक्सको रुपमा किरा खान्छन् ।

त्यसो त पश्चिमी मुलुकका कतिपय शाकाहारी मानिसहरु पनि किरा खान सुरु गर्दैछन् । उनीहरुलाई विश्वास दिलाइएको छ कि, फट्याङ्ग्राले दुखाई अनुभव गर्दैन । हुन त यसलाई पुष्टि गर्ने रिसर्च अहिलेसम्म भएको छैन । यद्यपी वैज्ञानिकहरुले किरा कल्याणका शोध सुरु गरिसकेका छन् ।

थाइल्यान्डको अभ्यास

विश्वका कतिपय भेगमा अहिले किरा फट्याङ्ग्रा खान थालिएको छ । किराको अनेकन परिकार बनाउन थालिएको छ । ति भेगका लागि यो कुनै आश्चर्य वा नौलो कुरा रहेन । संयुक्त राष्ट्रसंघका खाद्य एवं कृषि संगठन (एफएओ)को अनुमान छ कि, विश्वभरमा थुप्रै मानिसले आफ्नो खानामा नियमित रुपले किरा फट्यांग्रा सामेल गरिरहेका छन् ।

किरा खाने सन्दर्भमा थाइल्यान्ड एशियाको प्रमूख केन्द्र हो ।

थाइल्यान्डको चामल उत्पादक उत्तर–पूर्वी क्षेत्रबाट किरा खाने परम्परा सुरु भएको थियो । त्यहाँ रैथाने व्यान्जनमा किरालाई साइड डिशको रुपमा पस्किने गरिन्थ्यो ।

अहिलेसम्म पश्चिमी देशका केही उत्सुक पर्यटकले पनि यी व्यन्जन चाख्ने गरेका छन् । अहिले थाइल्यान्डले पश्चिमी देशमा खान लायक किरा निर्यात गर्ने तयारी गरिरहेको छ । सन् २०१७ मा थाइल्यान्डको फट्यांग्रा पालनको दिशानिर्देश तय गरेको छ, ताकि त्यसको सुरक्षित र कुशल उत्पादन हुन सकोस् ।

थाइल्यान्डका अधिकांश कीट फार्म साना छन्, तर शोधकर्ता र लगानीकर्ताले त्यसको उत्पादन बढाउने उपाय खोजिरहेका छन् ।

चियांग माईमा सन् २०१६ मा स्थापित फट्याङ्ग्रा ल्याबमा स्वचालित प्रकियामाथि शोध भइरहेको छ । उक्त फार्मका सह संचालकले बताए अनुसार त्यहाँ आहिले हरेक महिना ३ दशमलव ५ टन किट उत्पादन क्षमता छ । अब माग बढ्ने प्रतिक्षा छ ।

भोजन भरपूर

विश्वभरमा बिटल्स र झुसिलकिरा सबैभन्दा बढी खाइने किरा हो । यद्यपी विकसित मुलुकमा फट्यांग्रा मूख्य परिकारको रुपमा लोकप्रिय छ । किराको बर्गर अर्थात इन्सेक्ट बर्गर र मीलवार्म नुडल्स केही युरोपिया सुपरमार्केटमा पाउन थालिएको छ । साथै फट्यांग्राले बनेको प्रोटिन बार युरोप र उत्तर अमेरिकाको बजारमा आम भएको छ ।

पश्चिमी मुलुकमा फट्यांग्रा निकै लोकप्रिय भएको छ । हुन त साङ्ला किरामा पनि धेरै प्रोटिन हुन्छ । त्यसलाई आटामा मिलाउन सकिन्छ । तर, साङ्लाको बारेमा नकारात्मक छवी जोडिएको छ । घाँसको मैदानमा खुला रुपमा हुर्किने फट्यांग्रा घरको कुनाकाप्चामा बस्ने साङ्लाभन्दा बढी सुपाच्य हुन्छ ।

खोज–अध्ययन

सन् २०१६ देखि सन् २०१७ सम्म खान लायक किराको बारेमा जति एकेडेमिक पेपर प्रकाशित भए, त्यती अघिल्लो १० बर्षमा छापिएको थिएन । किराको बारेमा विज्ञानको रुची बढाउनुको मूख्य कारण हो, पर्यावरणिय स्थिरता । स्वस्थ्य र पोषणको हिसाबले किरा पनि प्रोटिन दिने अर्को जनवार जस्तै हो । यसको मूख्य फाइदा भनेको पर्यावरण हो ।

यदि खान लायक किरालाई ठूलो मात्रामा पाल्ने हो भने पशुबाट मिल्ने प्रोटीन बराबर प्रोटिन प्राप्त गर्न सकिनेछ । यसका लागि गाई, सुँगुर, कुखुराको उत्पादनभन्दा एकदमै कम प्राकृतिक संसाधन लाग्छ । साथै ग्रीनहाउस ग्यासको उत्सर्जन पनि कम हुनेछ । यसले पर्यावरणमा राम्रो प्रभाव पार्नेछ ।

कृषि क्षेत्रमा यसले ठूलो परिवर्तन ल्याउनेछ । किनभने यसका लागि ठूलो क्षेत्रफलको जमिन, अत्याधिक पानीको खपत हुँदैन ।

बढ्दो कारोबार

एजेन्सीको सहयोगमा अमेरिकी ग्लोबल मार्केट इनसाइट्सको रिपोर्ट अनुसार उच्च प्रोटिन र सुविधाजनक खाद्य पदार्थको बढ्दो मागको कारण खान लायक किराको बजार सन् २०१७ को ५ दशमलव ५ करोड डरलबाट बढेर सन् २०२४ मा ७१ करोड डलर हुनेछ । यूरोपियन संघमा सन् २०१८ को नोवेल फूड रुल्स्ले मुख्यधारको खाद्य प्रशोधनमा किरालाई सामेल गर्नका लागि एक कानुनी ढाँचा बनाउन सुरु गरिसकेको छ ।

तर…

पछिल्लो समय चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलियो र यसले विश्व मानव समुदायलाई आच्छु–आच्छु बनायो, बनाइरहेकै छ । कोरोना भाइरस किन र कहाँबाट फैलियो भन्ने सन्दर्भमा धेरैको अनुमान थियो, चमेरो र सालक यसको कारण हुनसक्छ ।

खासमा चीनको वुहान क्षेत्रमा चमेरो, सालक जस्ता जीवको मासु खाने गरिएको र त्यही माध्यामबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिन्छ । यही कुरालाई आधार मानेर कतिपयले के तर्क गरिरहेका छन् भने, मानव शरीरका लागि प्रकृतिले जुन–जुन खानेकुरा उपलब्ध गराएको छ, त्यही मात्र खानुपर्छ । शरीर र पाचन यन्त्रको प्रकृतिलाई हेरेर मान्छेलाई ‘शाकाहारी भोजन’ मात्र उपयुक्त हुन्छ । जीवजन्तुको मासु वा अप्राकृतिक खानेकुरा मानव शरीरका लागि अनुकुल छैन । आज जे–जति रोग लागिरहेका छन्, त्यसमा यस्तै अप्राकृतिक खानेकुरा मूख्य कारण हो भनिदैछ । यस्तो अवस्थामा किरा फट्याङ्ग्राले हाम्रो भोक टार्नेछ वा अरु रोग र संक्रमणको दलदलमा फसाउनेछ ?

Related Articles

Back to top button
Close