News

ब्राजिलमा कोरोना संक्रमित संख्या १४ लाख नाघ्यो, अमेरिकामा मृतक संख्या १ लाख ३० हजार

काठमाडाैँ, १२ असार । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएकाे छ । त्यहाँ पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्युका केस फेला परिरहेका छन् ।

ब्राजिलमा काेराेना संक्रमितकाे संख्या १४ लाख नाघेकाे छ । बुधबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या १४ लाख ८ हजार ४८५ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । ब्राजिलमा मंगलबार एकै दिन ३७ हजार ९९७ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण त्यहाँ मंगलबार १ हजार २७१ जनाकाे मृत्यु भएकाे छ ।

अघिल्लाे दिन साेमबार पनि त्यहाँ २५ हजार २३४ नयाँ संक्रमित थपिएका थिए भने ७२७ जनाले ज्यान गुमाए । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ५९ हजार ६५६ जनाले ज्यान गुमाइसकेका छन् ।

तर ब्राजिलमा निकाे हुने दर पनि बढी छ । त्यहाँ हाल काेराेना संक्रमित कुल संख्या १४ लाख नाघेकाे छ भने निकाे हुनेकाे संख्या ७ लाख ९० हजार नाघेकाे छ । मंगलबार मात्र त्यहाँ ३२ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । हाल त्यहाँ ५ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।

उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या २७ लाख नाघेकाे छ । त्यहाँ १ लाख ३० हजारभन्दा बढीले काेराेनाकै कारण ज्यान गुमाइसकेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बुधबार बिहानसम्म कुल संक्रमित संख्या २७ लाख २७ हजार ८५३ पुगेकाे छ । मंगलबार एकै दिन मात्र त्यहाँ ४६ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएकाे छ । याे अघिल्ला दिनहरूकाे तुलनामा निकै बढी हाे । यसअघि जून २६ का दिन अमेरिकामा हालसम्मकै बढी दैनिक संक्रमणका केस ४७ हजार ३४१ फेला परेका थिए ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ११ लाख ४३ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (मंगलबार) त्यहाँ २६ हजारभन्दा बढी मानिस निकाे भएका छन् । यद्यपि अझै १४ लाख ५४ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख ३० हजार १२२ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । मंगलबार त्यहाँ काेराेनाबाट ७६४ जनाकाे मृत्यु भएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अघिल्लाे दिन त्यहाँ ३६६ जनाकाे मृत्यु भएकाे थियाे ।

Related Articles

Back to top button
Close