News

नेतृ छन्त्यालको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त, बिहीवार पार्टीको कुनै कार्यक्रम नगरिने

काठमाडौं, १७ असार । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय कार्य समिति बैठकले स्वर्गीय छन्त्यालको निधन प्रति गहिरो दुःख प्रकट गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरेको छ ।

वि.स. २०१४ सालमा बाग्लुङ्ग जिल्लामा जन्मनु भएकी ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ्ग निवासी स्व.छन्त्याल वि.स.२०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नं. ३ बाट संविधान सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । उहाँ २०७४ मा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य बन्नु भएको थियो ।

वि.स. २०४६ सालबाट नेपाली कांँग्रेस पार्टीमा आबद्ध भई राजनीतिक यात्रा शुरु गर्नु भएकी स्व. छन्त्यालले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको नेपाली काँग्रेसद्वारा बुधबार जारी विज्ञप्तीमा जनाइएको छ ।

स्व. छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको र अपूरणीय क्षति समेत पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै २०७७ असार १८ गते बिहीवारका दिन पार्टी केन्द्रीय कार्यालय वन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने पनि काँग्रेसले जनाएको छ । यसैगरी भोलि पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगरिने पनि जारी विज्ञप्तीमा उल्लेख छ ।

नेतृ छन्त्यालको आज विहान बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

Related Articles

Back to top button
Close