News

दुलही लिन आएको गाडीलाई प्रहरीले बाटाेमै रोकेर दु:ख दिएपछि बिहेकाे साइत नै बिग्य्राे

झापा, १८ असार । सिराहबाट दुलही लिन झापा आएको माइक्रो बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै बाटाेमै रोकिदिएपछि जन्तीहरूकाे बिचल्ली भएकाे छ । प्रहरीले राेकेपछि बुधबार बीच बाटोमै बेहुला र १८ जना जन्ती अलपत्र परेकाे बताइएकाे छ ।

दुलही भद्रपुर- ५ बसपार्ककी मनिका यादवलाई लिन दुलहा बनेर भद्रपुर आउँदै गरेका सिराहा- १५ का रोहित यादव लाई प्रहरीले साँझ ५ बजे देखी राजमार्गमा रोकेर राति पौने १० बजे मात्र छोडेपछि विवाहकाे साइत नै बिग्रकाे पीडित पक्षले बताएका छन् । जबकि उनीहरुको विवाहको साइत राती सवा ९ बजेको थियो । प्रहरीले पटक्कै व्यवहारिकता नबुझेको उनीहरुले गुनासो गरे । ‘आखिर छाड्नै रहेछ । पाँच घण्टा सडकमा प्रहरीले दुलहालाई किन अलपत्र पारेर छाड्यो ?’ उनीहरुकाे गुनासाे छ ।

पीडित जन्तीका अनुसार सवारी पासबिना जान पाइन्न भन्दै प्रहरीले घर फर्कन भनेको थियो । सिराहाबाट भद्रपुर पुगेर बेहुली लिन झिलझिलेसम्म आइपुगेको जन्तीलाई प्रहरीले घर फर्कन दिएको दबाव सवारी चेकिङमा परेका अन्य कसैलाई पनि चित्त बुझेको थिएन । केही प्रत्यक्षदर्शी भन्दै थिए, ‘यस्तो व्यवहार गर्ने विवेकहीन ईन्सपेक्टर देखेकै थिएनौं ।’

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले राजमार्गमा दुलहा सवार ना १ ज ८८८५ नम्बरको माईक्रो रोकेको थियो । उनले जन्ती मात्र रोकेनन् । केही ट्रिपर पनि रोकेका थिए । प्रदेश गृहमन्त्री हिक्मत कार्की निकटका मानिसले फोन गरेर ट्रिपर छाड्न इन्सपेक्टर ठाकुरलाई दबाव दिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको कम्पाउण्डभित्र पार्किङ्ग गरिएका ट्रिपर छाडिएको एक प्रत्यक्षदर्शीले बताए । तर, बेहुलाको गाडी भने छाडिएन । स्थानीयले भने, ‘पहुँच हुनेको छाडियो निरिह सर्वसाधरणको विवाहको गाडी भने झिलझिले प्रहरीले छाडेन ।’

जन्तीले जरिवाना तिरेर जान गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले इन्कार गरे । जन्तीका अनुसार उनले यतिमात्र भनिरहे, ‘सवारी पास नभएको गाडी फर्काएर घरै जानुहोस् । लकडाउनमा विवाह गर्न पाइँदैन ।’

बुधबार राति पौने १० बजेसम्म बेहुला सडकमा अलपत्र नै थिए । प्रहरी निरीक्षक ठाकुरले आफ्नै समकक्षीले भनेको समेत टेरेनन् । बेहुला सहितका जन्तीले पटक-पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएर आफूलाई मानसिक तनाब दिएको बेहुला प्रदीप कुमार यादवले बताए ।

सिराहा बजारबाट दिउसो १२ बजे बेहुली लिन उक्त माईक्रो जन्तीसहित भद्रपुरतर्फ हिँडेकाे थियो । झापाको झिलझिलेमा आईपुगेपछि सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त माईक्रोलाई नियन्त्रणमा लिएको हाे । जन्तीमा सिराहाका एक स्थानीय पत्रकार पनि थिए । उनले पटक-पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुरा सुन्न नमानेको गुनासो गरे । ‘मैले पटक-पटक अनुरोध गरेँ, एकरति सुन्न मान्नुभएन । प्रहरीले परिस्थिती नबुझ्दा हामीले ५ घन्टा सडकमा दुःख र मानसिक पीडा पायाैँ,’ उनले भने ।

जन्तीले १ नम्बर प्रदेश प्रहरी प्रमुखलाई समेत प्रहरीले दु:ख दिएको गुनासो गरे । त्यसपछि राती साढे ९ बजे मात्र बेहुला सवार माईक्रो प्रहरीले छोडेको थियो । बेहुलीका दाजु रोहित यादवले भने, ‘प्रहरीले दुःख दिएको कुरा सुन्दा कतैबाट पनि चित्त बुझ्दैन । ५ जिल्ला पार गरेर आउँदा सवारी पार्स नचाहिने, झिलझिलेमा मात्र चैँ सवारी पास भन्दै रोकिदिने ?’

Related Articles

Back to top button
Close