News

शिक्षण अस्पतालमा कोरोनाका कारण ४५ दिनका शिशुको मृत्यु

काठमाडौ, १८ । कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना कोरोना संक्रमित शिशुको निधन भएसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको हो ।

टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको निधन भएको जानकारी दिए । शिशुलाई मंगलवार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार साँझ निधन भएको हो ।

शिशुलाई उपचारका लागि ३ साता अघि अस्पताल लगिएको थियो । जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका शिशुलाई कोरोना पुष्टि भएको थियो ।म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो ।

शिशुको हिजो बेलुका निधन भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।

यो अर्को समाचार, आइसोलेसन र क्वारेन्टिन खाली
हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन् ।

कोरोना भाइरस पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए ।

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य कुनै पनि मानिसमा कोरोना पुष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पिसीआर परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।

हालसम्म मनाङमा १६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ श्यया क्षमताको क्वारेन्टिन र सात श्ययाको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टिन अहिले खाली छन् ।

Related Articles

Back to top button
Close