News

चितवनमा कोरोना समुदाय स्तरमा फैलियो, संक्रमित थपिने भय बढ्यो (भिडियो)

चितवनमा समुदाय स्तरमै कोरोना संक्रमित भेटिएपछि कोरोनाको जोखिम बढेको छ । जिल्लामा नेपालमै बसोबास गर्ने ५ जनामा कोरोना देखिएपछि समुदाय स्तरमा पुगेको आंकलन गर्ने अवस्था छ ।

जिल्लामा भरतपुर महानगरपालिकाका ३, राप्ती र खैरहनी नगरपालिकामा एक/एकजनामा कोरोना देखिएको हो । उनीहरुको कुनै ट्राभल हिस्ट्री छैन । उनीहरु विदेशबाट आएका व्यक्ति पनि होईन् । उनीहरुको घरपरिवारमा पनि विदेशबाट कोही आएका छैनन् ।

उता स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले समुदाय स्तरमा गएको पुष्टि हुनका लागि अहिले देखिएका संक्रमितसंग प्रत्यक्ष संलग्न भएका व्यक्तिको कोरोना पीसीआर परीक्षण गरेपछि थाहा हुने बताउछन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ७का ६१ वर्षीय पुरुष, भरतपुर–११ की ४५ वर्षीया महिला, र भरतपुर २२का एक, राप्ती नगरपालिकामा एक र खैरहनी नगरपालिकामा कोरोना देखिएका व्यक्तिको ट्राभल हिस्ट्री नभएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो ।

राप्ती र खैरहनीका दुईजना बिरामी भएर उपचारका लागि नारायणी सामुदायिक अस्पतालमा थिए । अहिले त्यहाँबाट उनीहरुलाई भरतपुर अस्पतालमा रेफर गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विदेशबाट आएका व्यक्तिहरुमा कोरोना पुष्टि भएमा पहिलो चरण मान्ने गरेको छ भने, विदेशबाट आएका आफन्त वा उनीहरुको सम्पर्कमा भएका व्यक्तिहरुमा कोभिड–१९ पोजेटिभ देखिएमा दोस्रो चरण मान्ने गरेको छ ।

त्यस्तै कहिँ कत्तै नगएका र विदेशबाट आएकाहरुको सम्पर्कमा पनि नरहेकाहरुलाई कोभिड–१९ देखिएमा तेस्रो चरण मान्ने गरेको छ । यो चरणलाई समुदाय स्तरमा प्रवेश गरेको पनि भन्ने गरिन्छ । चौथो चरणलाई महामारीको रुपमा लिईएको छ ।

पछिल्लो समयमा विदेशबाट स्वदेश फर्किनेको संख्या बढेकाले संक्रमित अझै थपिने उहाँको भनाई छ । क्वारेन्टाइन बाहिरका व्यक्तिमा कोरोना देखिन थालेपनि लकडाउन झन खुकुलो हुँदा कोरोना संक्रमित बढ्ने आशंका गरिएको छ ।

जिल्लामा पहिलो पटक बैशाख ५ गते राप्ती नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको थियो । अहिले सम्म चितवनका ७६ जनाका कोरोना पुष्टि भइसकेको छ । इच्छाकामना गाउँपालिका बाहेक जिल्लाका सवै तहमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका अनुसार, भरतपुर महागरपालिकामा ३४, माडी नगरपालिकामा २९, राप्ती, खैरहनी र कालिकामा ४/४ र रत्ननगरपालिकामा १ जनामा कोरोना देखिएको छ । त्यसमध्ये २२ जना निको भएर घर फर्किसकेका छन् ।

फोक्सोको क्यान्सर लागेका ७४ बर्षिय बृद्धले पनि कोरोना जितेका छन् । एक जनाको मृत्यु भैसकेको छ ।

Related Articles

Back to top button
Close