News

२४ घण्टामा १९४ जना कोरोना संक्रमित निको भएर घर फर्के

काठमाडौँ, ७ असार- पछिल्लो २४ घण्टामा आठ महिला र १८६ पुरुष गरी कूल १९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४९ महिला र एक हजार ६२३ पुरुष गरी कूल एक हजार ७७२ पुगेको छ ।

२३ सङ्क्रमितको मृत्यु
आज थप एक व्यक्तिको कोभिड–१९ सङ्क्रमितका कारण मृत्यु भएको छ । योसँगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमा गुल्मी क्षत्रकोट गाउँपालिका–५ मैनडाडाँका ६९ वर्षीया पुरुषको मृत्यु भएको छ । उहाँ प्यारालाइसिस उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टिनमा बस्नुभएको थियो ।

पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा छ हजार आठ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नौ हजार ८७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार हालसम्म पिसिआर विधिबाट एक लाख ७५ हजार १७३ र आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमूनाको परीक्षण गरिएको छ । मुलुकभरका क्वारेन्टिनमा ९४ हजार ९२८ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार २३१ रहेको छ । (रासस)

Related Articles

Back to top button
Close