News

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, को हुन् उनी ?

काठमाडाैं । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो। लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। यसैबीच २ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने दाबी गरेका छन् ।

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो । आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्दै यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ध्यानाकर्षण गराइने उनीहरूले बताएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ । डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

यस्तै भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ । उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ । २० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् ।

दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी प्रभावित अमेरिका छ भने त्यसपछि ब्राजिल प्रभावित मुलुकको रुपमा रहेको छ ।

त्यस्तै स्पेनमा फेरि कोरोना भाइरसको महामारी देखिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन सुरू गरिएको छ । कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा पुगिसकेको स्पेनमा फेरि महामारीको अर्को लहर सुरु हुने संकेत देखिएपछि उत्तर–पश्चिमी क्षेत्र गालिसियाका विभिन्न ठाउँमा पुनः लकडाउन गरिएको छ ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ । यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

गालिसिया क्षेत्रमा फेरि २५८ जना कोरोना भाइरसका संक्रमित देखिएपछि महामारी फैलन नदिन सरकारी अधिकारी फेरि लकडाउनको निर्णयमा पुगेको बीबीसीले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा सोमबारसम्म २ लाख ९७ हजार ६२५ जना संक्रमित भएकामा ६१७ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २८ हजार ३८५ जनाको मृत्यु भएको थियो ।

Related Articles

Back to top button
Close