News

लकडाउनका कारण मुगुमा करोडौंको यार्सागुम्बा कुहियो, राजश्व संकलनमा ठूलो क्षति

मुगु, २२ असार । विश्वभर फैलिएको प्राणघातक कोरोना महामारीका कारण यो वर्ष मुगुको हिमाल भेग (पाटन)मा पाइने करोडौं मूल्यको जडिबुटी यार्सागुम्वा कुहिएको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि मुगुको मुगमकामारोङ्ग गाउँपालिकाको सानाकोखी, ठूलाकोखी, रिमाड, टाके, हङ्गादङ खोलालगायतका हिमाल तथा पाटनहरुमा जेठ र असारमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा कुहिएको हो ।

त्यस्तै, मुगुको मुगमकामारोङ्ग गाँउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो हिमाल तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य यार्सागुम्बा संकलनमा रोक लगाउदा करोडौंको यार्सागुम्बा कुहिएको स्थानीयको भनाइ छ ।

त्यस्तै, कोरोना महामारीका कारण यार्सा संकलनमा रोक लगाएपछि करोडौं मूल्यको यार्सागुम्बा पाटनमा नै कुहिएको मुगमकामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताउनुभयो ।

शाहीका अनुसार विगतका वर्षहरुमा यार्सागुम्बा संकलकहरुको प्रवेश शुल्कबाट मात्रै गाँउपालिकाको करोडौं राजश्व उठाउँदै आएको थियो । तर, यो वर्ष भने कोरोना महामारीका कारण यार्सागुम्बा संकलनमा रोक लगाउँदा गाउँपालिकालाई करोडौंको रुपैयाँ घाटा लागेको छ ।

मुगमकामारोङ्ग गाँउपालिकाको मुगु, डोल्फु, चितै, माग्री, पुलु, किम्री, रिउस, दाउरा, महालगायत दर्जनौं गाउँका स्थानीयको मुख्य स्रोत नै यार्सागुम्बा हो

तर, यो वर्ष भने कोरोना संक्रमणका कारण यार्सा संकलनमा रोक लगाउँदा स्थानीयको जीवनयापनमा समस्या आउँछ कि भन्ने चिन्ताले सताएको मुगुमकामारोङ्ग गाँउपालिका–१ का वडाध्यक्ष सोनाम आङ्गतिज तामाङ्गले बताउनुभयो ।

मुगालीको रोजीरोटी गुम्यो

विगतका वर्षहरुमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गरी जीवन धान्दै आएका मुगालीहरुलाई यो वर्ष भने विहान–बेलुका हात मुख जोड्न नै समस्या भइरहेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाउदा मुगालीहरुको रोजीरोटी नै गुमेको मुगुमकार्मारोङ्ग–२ का स्थानीय कार्मा लामा बताउनुहुन्छ ।

उहाँका अनुसार विगतका वर्षहरुमा विकासका योजनाहरु न्यून भएको र आफ्नो गाउँदेखि अर्को गाउँमा गएर व्यापार व्यवसाय गर्न पनि नमिल्ने भएपछि रोगले भन्दा भोकले ज्या’न जाने ठूलो चिन्ता लागेको छ ।

Related Articles

Back to top button
Close