News

कोरोनाका डरले अस्पतालमा छैनन् अन्य बिरामी

काठमाडौँ, २3 असार । नेपालमा कोभिड–१९ संक्रमण दिनहुँ बढ्दो छ । लकडाउन घोषणा भएयता चार महिनादेखि अस्पतालका सेवा प्रभावित बनेका छन् ।ओपीडी खुला भए पनि उपचारमा बिरामीको पहुँच कम छ । दैनिक २ हजार बिरामीको भीड लाग्ने उपत्यकाका ठूला सरकारी अस्पतालमा अहिले पाँच सय बिरामी पनि पुगिरहेका छैनन् ।

सरकारले कोभिड संक्रमण नियन्त्रणमा मात्रै ध्यान दिँदा अन्य रोगका बिरामीले दुःख पाइरहेका छन् । भोलिका दिनमा कोभिडभन्दा अरू रोगका कारण मृत्यु हुनेको संख्या बढ्छ भन्ने चिन्ताले विज्ञहरूलाई सताइरहेको छ ।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

संक्रमणका बीच पनि सुरक्षा अपनाएर सेवा खुला र सहज बनाउनुपर्ने स्वास्थ्य सेवा व्यवस्थापक डा। शरद गजुरेल बताउँछन् । कोभिड संक्रमणबीच पनि अन्य रोगका बिरामीले अस्पतालमा जाँच गर्न पाउने वातावरण मिलाउन ढिला भइसकेको उनले बताए ।

‘धेरै भीड हुने सरकारी अस्पतालमा अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाउन सकिन्छ, यसले अनावश्यक भीड कम गरेर संक्रमण फैलिन दिँदैन,’ उनले भने, ‘एक जनाभन्दा बढी कुरुवा नराख्ने, अस्पताल छिर्ने जोसुकैलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने गर्नुपर्छ ।’ संक्रमण फैलिन नदिन अस्पतालको सरसफाइले मुख्य भूमिका खेल्ने भएकाले दैनिक एकपटक सफा गरिँदै आएको अस्पतालका कोठाहरू २ घण्टाको फरकमा डिस्इन्फेक्ट गर्नुपर्ने उनले बताए ।

Related Articles

Back to top button
Close