News

कोरोनाले खायो राराको राजस्व, चहलपहल ठप्पै !

मुगु, २३ असार । नेपालको प्रमुख पर्यटकीय स्थलमध्ये रारा ताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो ताल क्षेत्रमा आजभोलि पर्यटकको आवागमन न्युन रहेको छ । आजभोलि रारा तालमा फाट्टफुट्ट मात्र घुम्न आउने गरेका छन् ।

विगतका दिनहरुमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गथ्र्यो । राराको त्यो चहलपहलसँगै राजस्व संकलनमा पनि उत्तिकै फड्को माथ्र्यो । यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा रारामा उठ्ने राजस्व भने शून्यप्रायः छ । या भनौँ राराको राजश्व यस वर्ष कोरोनाले खाइदिएको छ ।

कोरोना महमारी र नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दी गरेको आज १ सय ६ दिनभन्दा अघिसम्म विभिन्न विषयमा उठ्नुपर्ने राजस्वमध्ये यस वर्ष रारा राष्ट्रिय निकुञ्जको राजस्व घटेको छ ।

गत आर्थिक वर्षमा ३५ लाख २७ हजार रुपैयाँ संकलन भएकोमा यस वर्ष ३२ लाख मात्र राजस्व उठेको रारा राष्ट्यि निकुञ्जले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष करिव ४ लाख रुपैयाँ राजस्व घटेको निकुञ्जले जनाएको छ । निकुञ्जले चालु आर्थिक वर्षमा ४० देखि ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत साउनदेखि फागुनसम्म मात्र २७ लाख राजस्व उठेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।
संरक्षण अधिकृत थपलियाका अनुसार चैत, वैशाख र जेठ महिनामा राजस्व संकलन भएको छैन । ‘निकुञ्जमा झन्डै ९० प्रतिशत राजस्व पर्यटकबाट संकलन हुन्छ,’ उनले भने, ‘बाँकी राजस्व वन पैदावार, दण्ड–जरिवाना, टेन्डरलगायत प्रवेश शुल्कबाट उठ्छ ।’

निकुञ्जले आन्तरिक पर्यटकबाट १ सय, सार्क राष्ट्रका पर्यटकबाट १ हजार ५ सय र अन्य मुलुकबाट आउनेहरुबाट ३ हजार रुपैयाँ प्रतिव्यक्ति राजस्व लिने गरेको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close