News

अमेरिकामा झनै बढ्दै काेराेना महामारी, एकै दिन थपिए ६१ हजार बढी संक्रमित

काठमाडाैँ, २५ असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ बुधबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ६१ हजार ८४८ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा याे नै हालसम्मकै बढी दैनिक संक्रमणका केस रहेकाे बताइएकाे छ । बिहीबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या ३१ लाख ५८ हजार ९३२ पुगेकाे छ ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अझ सक्रिय उमेर समूहका युवाहरूमा संक्रमण बढी फैलिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।

हाल अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या कम हुँदै गएकाे छ । त्यहाँ हालसम्म १ लाख ३९ हजार ६७९ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार त्यहाँ काेराेनाबाट ८९० जनाकाे ज्यान गएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ ।

तर अहिले अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म १३ लाख ९२ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बुधबार) त्यहाँ ३७ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १६ लाख ३१ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

तर अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नआउने बताइएकाे छ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताएका छन् ।

फाउचीले अमेरिका भोलिको समयमा थप समस्यामा घेरिने बताएका छन् । उनले मानिसहरुले यदि सामाजिक दुरीको पालना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप खराब हुनसक्ने चेतावनी दिएका छन् । सावधानी नअपनाएमा अमेरिकाम हरेक दिन १ लाखभन्दा बढी नयाँ संक्रमित भेटिन सक्ने उनकाे भनाइ छ ।

Related Articles

Back to top button
Close