News

सिन्धुपाल्चोकका घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो, २० अझै बे’पत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ ।

बाह्रबिसेका सुबेस तामाङ र सविता बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत कैलाश अस्पतालमा र भोटेकोशीका फुर्वा तामाङ र एक शिशुलाई माउन्टेन हेलिकप्टरमार्फत ह्याम्स अस्पतालमा लगिएको हो ।

पहिरोमा परि अहिलेसम्म दुई जनाको शव भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ, जम्बोमा दुई जनाको शव भेटिएको हो । पहिरोमा परि अझै २० जना हराइरहेका छन्, उनीहरुको उद्धार भइरहेको छ । उद्धारको लागि पालिका र अरु निकायबीच समन्वय भइरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

बाढी र पहिरोको कारण विभिन्न ठाउँमा गरी ३६ वटा घर बगेका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले घरसँगै बस, ट्रक, स्कर्पियो र ट्याङ्कर गरी चार वटा गाडी पनि बगाएको छ । यस्तै पहिरोले खागदलको पक्की पुल बगाएको छ । पक्की पुल बगाएपछि अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

यो अर्को समाचार, बाह्रबीसे बाढीमा २० बे’पत्ता
बाढीमा परी बे’पत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बे’पत्ता भएका छन् ।

सो नगरपालिकाको अनुसार बे’पत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उहाँकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

सभामुख बाह्रबीसेमा
सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जाने प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गरेका हुन् ।

Related Articles

Back to top button
Close