News

कोरिया उड्न नपाएकाहरुको गुनासो : कि रोजगारी देउ सरकार नत्र रेमिट्यान्स छाडिदेउ

काठमाडौं, २६ असार । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज (शुक्रबार) काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पुरा भए पनि कोरिया जान नपाएकाहरुले आज काठमाडाैंकाे शान्तिबाटिकामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

२ हप्ता भित्र सरकारले कोरिया पठाउनको लागि पहल नगरे करिब ४५ सय जनाको रोजगारी गुम्न सक्छ, प्रर्दशनका संयोजक अजय सोडारीले भन्नुभयो । उहाँका अनुसार सो रोजगारी गुमेपछि अधिकांशको करिब ४ वर्षको मेहेनत खेर जान्छ ।

यसअघि पनि कोरिया जानको लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र इपीएस कार्यालय पटक पटक धाएको तर समस्या समाधानको बाटो तर्फ उन्मूख हुन नसकेकोले सडकमा आउन बाध्य भएको प्रदर्शकाकारीहरु बताउँछन् ।

आफूहरुको समस्या समाधानको लागि वातावरण नबनाएर सरकारले आफ्ना नागरिकमाथि गलत रबैया देखाएको प्रदर्शनकारीको आरोप रहेको छ । प्रदशर्नकारीले सरकारले आफ्नो समस्याको समाधान नगरेको खण्डमा क्रान्तिकारी बन्न बाध्य हुनुपर्ने बताउनु भएको छ ।

नेपाल सरकारको कारणले ६ सय भन्दा बढीको भिषा रद्द भएको उनीहरुको भनाइ छ । रोजगार दाता कम्पनीले बारम्बार आउ भनेर बोलाएको समयमा सरकारले उडान बन्द गर्दा पाएको रोजगार गुम्न सक्ने अवस्था आएको प्रदर्शनकारीहरुको गुनासो छ ।
‘शान्तिपूर्ण प्रदर्शनलाई सरकारले वेवास्था गरे बालुवाटार घेर्न बाध्य हुन्छौँ’, संयोजक सोडारीले भन्नुभयो । साथै उहाँले आफ्नो मागको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउन खोज्दा सचिवालयले समय नमिलाएको भन्दै गुनासो समेत व्यक्त गर्नुभयो ।

सरकारले आफ्नो माग पूरा नगरेसम्म सडक आन्दोलन नछोड्ने सोडारीको भनाइ छ । प्रदर्शनमा गरिखान दे सरकार, सक्छौँ भने देशमै रोजगार देउ सक्दैनौँ भने हाम्रो भविष्य नबिगार सरकार, कि रोजगारी देउ, कि रेमिट्यान्स छाडिदेउ, जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

Related Articles

Back to top button
Close