News

राजस्थानबाट उत्तरपूर्व हावा चल्दै, सलह पुन: नेपाल आउने सम्भावना बढ्यो

काठमाडौं, २६ असार । नेपालमा पुन: भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा बढेको छ । भारतको राजस्थानबाट उत्तरपूर्व वायु बहेको कारण त्यस क्षेत्रबाट सलह नेपाल प्रवेश गर्नसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

जता वायु बहन्छ त्यतै सलहका झुण्ड मोडिने भएकाले यसको समुह नेपाल प्रवेश गर्ने सम्भावना प्रबल रहेको सलह सूचना केन्द्रले जनाएको छ । ‘राजस्थानको उत्तरपूर्व नेपाल हो । यही अवस्था केहीदिन रहे त्यहाँका सलहका झुण्ड नेपाल प्रवेश गर्न सक्छ ।’ – सलह सूचना केन्द्रले बतायो ।

नेपालका सलह अध्यायन कार्यदलका प्रविधिक सदस्यहरुले पनि राजस्थानको धेरै ठूलो क्षेत्रमा यसको झुण्ड सक्रिय रहेकाले यही अवस्था रहे त्यो सलहको झुण्ड नेपाल प्रवेश गर्नसक्ने दावी गरेका छन् । तर केही विज्ञहरुले राजस्थानबाट हावा उत्तरपूर्वी वहेपनि त्यस क्षेत्रमा पानी परिरहेकाले त्यही बस्ने र कालोबादल लागेको बेला उनीहरु उड्न नसक्ने हुनाले नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको पनि तर्क गरेका छन् ।

नेपालमा भदाैसम्म सलहको सम्भावना रहेको बिज्ञहरु बताउछन् । राजस्थानमा सलहको साना साना झुण्ड रहेको र तीनीहरुको पूर्ण बिकास हुन भदौसम्म लाग्ने हुनाले यसको नेपाल प्रवेश गर्ने सम्भावना करिब २ महिना मात्रै रहेको बताइएको छ ।

नेपालमा सलह नियन्त्रणका लागि कृषि मन्त्रालयले विभिन्न कार्य गरिरहेको छ । यसअघि पनि भारतबाट सलह नेपाल प्रवेश गरेका थिए । नेपालमा धेरै बालीनालीमा क्षति पुर्याएका सलह उच्च पहाडी क्षेत्रमा पनि देखा परेका छन् ।

Related Articles

Back to top button
Close