काठमाडौं उपत्यकामा पुनः संक्रमित बढे, पछिल्लो २४ घण्टामा ४२ जनामा संक्रमण फेला
काठमाडौं, २६ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ । बिहीबार काठमाडौं उपत्यकामा कम संक्रमित देखिए पनि शुक्रबार भने एकै पटक ४२ थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १५ जना, ललितपुरका १३ जनामा र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा संक्रमणको पुष्टि भएको छ ।
लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा बढ्दो गतिविधिसंगै संक्रमितको संख्या हरेक दिन थपिन थालेको पाइएको छ । चिकित्सकहरले पनि यो अवस्थाप्रति चिन्ता जाहेर गर्दै संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।