News

वडाध्यक्षको घर र खाजा पसलबाट बरामद ठूलो परिमाणको ला’गू औषध नष्ट

बागलुङ, २६ असार । जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार ९५ केजी गाँ’जा नष्ट गरेको छ । यही असार १२ गते निसिखोला गाउँपालिका-६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीको घरबाट बरामद गरिएको ८६ केजी ५ सय ग्राम र असार १२ गते ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजा पसल सञ्चालन गरी बस्ने म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका-२ काधनबहादुर भण्डारीको पसलबाट बरामद गरिएको ९ केजी गाँ’जा शुक्रबार नष्ट गरिएको हो ।

बागलुङ जिल्लाको विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसर भित्रै गाँजा जलाइएको थियो ।
वडा अध्यक्ष घर्तीको घरमा लुकाईछिपाई राखेको सुराकीको आधारमा खानतलासी गर्दा ८६ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेमबहादुर केसीले बताउनुभयो ।

घर्तीको घरमा ८ वटा बोरामा गाँजाको धुलो लुकाएर राखिएको जानकारी पाएपछि प्रहरी टोली खटिएको केसीले बताउनुभयो ।

यसैगरी म्याग्दी घर भई बुर्तिबाङमा खाजापसल सञ्चालन गर्ने धनबहादुर भण्डारी दम्पतिले अवैधरुपमा ला’गू औषध बिक्रि वितरण गर्ने सूचनाका आधारमा खानतलासी गर्दा ९ केजीगाँजा सहित चरेस जस्तै देखिने १ सय ९० ग्राम कालो बस्तु फेलापारेको जानकारी दिनुभयो ।

गाँजा बरामद भएपछि बुर्तिवाङमा रहेको देबचोक खाजा घरका सञ्चालक म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय धनबहादुर भण्डारी र उनकी श्रीमती ४० वर्षीया मिना भण्डारीलाई लागू औषध बेचविखन तथा ओसार पसार, वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई ला’गू औषध सञ्चीति, ढोरपाटन नगरपालिका-१ का २० वर्षीय बिपीन रसाईली, २७ वर्षीय चित्र बहादुर पुन, २५ वर्षीय दलबहादुर पुन, १९ वर्षीय जुनबहादुर विक, १८ वर्षीय मनोज विक, बडिगाड गाउँपालिका–४ का २० वर्षीय गिरे विक र गलकोट नगरपालिका–२ का २० वर्षीय रामबहादुर सुनारलाई लागू औषध प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केसीले जानकारी दिनुभयो ।

५० ग्राम सम्मगाँजा चरेस भेटिए तीन महिना कैद वा तीन हजार जरिवाना, ५० ग्राम देखि ५ सय ग्रामसम्म भेटिएमा एक महिना देखि एक बर्ष सम्म कैद र दुई हजार देखि १० हजार रुपैँया सम्म जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

यस्तै ५ सय ग्राम देखि १ किलो सम्म भेटिए ६ महिना देखि दुई बर्ष सम्म कैद र १० हजार रुपैँया सम्म जरिवाना, २ किलो देखि १० किलो सम्म भेटिए तीनबर्ष सम्म कैद र २५ हजार रुपैँया सम्म जरिवाना तथा १० किलो देखिमाथि जुनसुकै परिमाणमा भेटिए पनि १० बर्ष सम्म कैद र एक लाख सम्मको जरिवाना तिर्नुपर्ने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यस्तै कारबाहीका लागि थप अनुसन्धान भैरहेको बताइएको छ । विगतमा गाँजा, चरेस बोक्ने भरियाहरु मात्रै पक्राउ पर्ने गरेकोमा यस पटक कारोवारीसहित ठूलो परिणाममा लागू औषध फेला परेपछि प्रहरीको सक्रियता पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close