News

उद्दार उडानका लागि पुनः एक साता म्याद थप, अलपत्र नेपालीलाई साउन ६ सम्म ल्याइने

काठमाडौं, २८ असार । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दारका लागि सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार आगामी बुधबार (असार ३१ गते) देखि सुरु हुने उद्दार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने जानकारी गराइएको हो ।

बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्दार उडान हुने जानकारी गराइएको छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार रियाद, कुबेत, कतार, बहराइन, सारजाह, मेलेसिया, युएई, दुबई, अबुधाबी र साउदी अरबको दमामबाट नेपाली नागरिकको उद्दार गरिने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार सीसीएमसीले तालिका सार्वजनिक गरेका जानकारी गराएको छ । त्यसोत, सरकारले नियमित हुने व्यवसायिक उडान भने साउन ६ गतेसम्म स्थगित गरेको छ ।

सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तेस्रोपटकको उद्धार उडान तालिका सार्वजनिक गरेको पर्यटन मन्त्रालयले जनाएको हो । सरकारले कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार उडानमार्फत जेठ ३२ गतेदेखि थालेको स्वदेश फर्काउने अभियानको आज अन्तिम दिन हो ।

तेस्रो चरणको उद्दार उडान सुरु गर्नु अगाडि सरकारले दुई दिन उडान स्थगित गरेको छ । उक्त २ दिनमा सरकारले उद्दार उडानमा भएका कमी कमजोरीको विषयमा समीक्षा गर्नेछ ।

सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको जानकारी गराइएको छ ।

यसैबीच, विदेशी वायुसेवा कम्पनी अन्र्तगत एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएको बताइएको छ ।

Related Articles

Back to top button
Close