News

हुम्ला : खार्पुनाथ गाउँपालिकाभित्रका सबै विद्यालय साउन २ गतेबाट खोल्ने

हुम्ला, २९ असार । सरकारले हुम्लालाई कोरोना भाइरसको संक्रमणमुक्त जिल्ला घोषणा गरेसँगै जिल्लाको मध्यभागमा अवस्थित खार्पुनाथ गाउँपालिकाले सामाजिक दुरी कायम गरी पालिकाभित्रका सबै विद्यालय खोल्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिम घट्दै गएको निष्कर्षसहित खार्पुनाथमा रहेका सबै विद्यालय आगामी साउन २ गतेबाट खोल्ने निर्णय गरेको हाे । गाउँपालिकाले कुनै विषम परिस्थिति नआए आगामी साउन २ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालयहरू खोल्ने निर्णय गरेको हो ।

खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि, प्रधानाध्यापक र सरोकारवालासहित बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता भिमराज शाहीले बताए । ‘कुनै विषम परिस्थिति आएन भने अथवा केन्द्र सरकारले कुनै नीति निर्देशन पठायो भने अलग पाटो हो, नत्र साउन २ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छ,’ शाहीले भने ।

कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन ठप्प छ । यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ । विद्यालयमा सुरक्षा सावधानी अपनाएर सामाजिक दुरी कायम गर्दै बिहान र दिउँसो गरी दुई सिफ्टमा विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

Related Articles

Back to top button
Close