News

जङ्गीअड्डामा पृतनापति भेला : राम्रो काम गर्दागर्दै विवादमा तानिएको निष्कर्ष

७ असार, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध राम्रो काम गर्दागर्दै विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाएको छ ।

सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’मा महामारीमा सेनाले गरेका कामकारबाहीबारे छलफल भएको थियो । जङ्गी अड्डामा दुई दिनसम्म चलेको बैठकमा सहभागी एक उच्च सैन्य अधिकृतका अनुसार कोरोना महामारीमा राम्रो काम गर्दा गर्दै पनि सेनालाई विवादमा तानिएको निष्कर्ष निकालिएको हो ।

बैठकमा कोरोना नियन्त्रण तथा प्रतिकार्यमा सेनाका विभिन्न युनिटले गरेका कामबारे जर्नेलहरुले ‘प्रिजेन्टेसन’ गरेका थिए । त्यसक्रममा सही नियतले गरिएको काममा प्रश्न उठेको बताउँदै आगामी दिनमा सुधार र परिमार्जन गर्नुपर्ने विषयबारे छलफल भएको उनले बताए । उनले अनलाइनखबरसँग भने, ‘संवैधानिक काम गर्दागर्दै पनि विवादमा पार्ने काम भयो, त्यसमा के गर्दा राम्रो हुन्थ्यो भन्नेबारे छलफल भएको छ ।’

सेनालाई नियतवस विवादमा मुछिएको अधिकृतहरुको भनाइ छ । यद्यपि, यसबारे ती अधिकृतले विस्तृतमा खुलाएनन् ।

सेनाले चीनबाट जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट दुई अर्ब २५ करोड बढीको ३४० टन स्वास्थ्य सामग्री ल्याउने गरी चिनियाँ वाणिज्य मन्त्रालयसँग सम्झौता गरेको थियो । मन्त्रालयले पठाएको पठाएको सूची अनुसारको मूल्य रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतबाट पारित गरेर सामान ल्याइए पनि सेनाले महँगोमा सामान किनेको भन्दै विवाद भएको थियो । यद्यपि, सेनाले किनेको सामग्रीमध्ये ६ वटा स्वास्थ्य विभागले ओम्नी समूहबाट खरिद गरेभन्दा निकै सस्तो मूल्यमा किनिएका थिए ।

ओम्नीभन्दा निकैपछि र विश्वमै संक्रमण दर बढिरहेका वेला खरिद गरिएका कारण पनि केही सामग्रीको मूल्य महँगो पर्न गएको अधिकृतहरुको भनाइ छ ।

बैठकमा पृतनापतिहरुले महामारीमा भारत र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट आएका नागरिकको व्यवस्थापनबारे पनि कुरा उठाएका थिए । ‘होल्डिङ एरिया भन्ने वित्तिकै सबै सेनाले व्यवस्थापन गर्ने भन्ने बुझाइ देखिएको छ’, एक सैनिक अधिकृतले बैठकमा भनेका थिए, ‘सरकारका सबै निकायको समन्वय हुनुपर्छ र खुवाउने लगायतको जिम्मेवारी सेनलाई दिइएको छैन । त्यसले नागरिकमा गलत अर्थ गइरहेको छ ।’

यसका लागि विभिन्न निकायसँग कसरी समन्वय गर्ने भन्नेबारे छलफल भएको छ ।

विप्लव समूह : राष्ट्रिय सुरक्षाका लागि चुनौती

सेनाले प्रतिबन्धित विप्लव समूह राष्ट्रिय सुरक्षाका लागि चुनौतिपूर्ण रहेको पनि निष्कर्ष निकालेको छ ।

पछिल्लो समय मुलुकका विभिन्न ठाउँमा भण्डारण गरिएका विष्फोटक पदार्थ धमाधम बरामद हुँदै जाँदा भविष्यमा आउन सक्ने चुनौतिबारे पनि छलफल भएको छ ।

शुक्रबार र आइतबार जंगीअड्डामा भएको दुई दिने बैठकमा युद्धकार्य महानिर्देशनालयले मुलुकको सुरक्षा स्थिति र चुनौतिबारे प्रस्तुतिकरण दिएको थियो । बैठकमा भारतले नेपाली भूमि मिचेर दार्चुलामा सडक बनाएपछि जारी नयाँ नक्साको विषयमा पनि छलफल भएको छ । यसबाट आउन सक्ने परिणामबारे पनि छलफल भएको स्रोतको भनाइ छ ।

साथै यो विषयलाई कूटनीतिक तथा राजनीतिक संवादबाट हल हुनुपर्ने सैनिक अधिकृतहरुको धारणा छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि बुधबार छाङरुको भ्रमण गरेका छन् । जसलाई अर्थपूर्ण मानिएको छ ।

Related Articles

Back to top button
Close