News

कुहिएको चामल काण्ड : छानबिनका लागि जिल्ला प्रशासनले लियो स्याम्पल

कुहिएको चामल काण्ड : छानबिनका लागि जिल्ला प्रशासनले लियो स्याम्पल
दैलेख, ३१ असार । जिल्लाको नारायण नगरपालिका–४ ले मंगलबार कुहिएको चामल वितरण गरेपछि स्थानीय आन्दोलित भएका थिए । साथै, स्थानीयले कार्यालय र चामलको गोदाममा तालाबन्दी गरेपछि जिल्ला प्रशासनले आज (बुधबार) छानबिनको लागि चामलको स्याम्पल लिएको छ ।

चामल जाँच गर्न पठाउने र रिपोर्ट आएपछि रिपोर्ट अनुसार प्रक्रिया अगाडि बढ्ने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा तिलक प्रसाद न्यौपानेले भने, ‘हामीले चामलको स्याम्पल लिएर जान्छौं । सम्बन्धित निकायमा जाँचको लागि पठाउछौं । खान योग्य छ कि छैन ? भन्ने रिर्पोट आएपछि कारबाही प्रक्रिया अगाडि बढाउनेछौं ।’

चामलको गोदामबाट सबै भन्दा मूनीको चामलको स्याम्पल लगिएको र सबैको रोहबरमा कार्यालयको ताला खोलिएको उनले बताए । बुधवार करिब ११ बजेको समयमा जिल्ला प्रशासनको टोली वडा कार्यालय पुगेको थियो ।

आन्दोलित जनताले जेठमा ल्याइएको चामल भोकमारीमा वितरण नगरिएको, मिलबाट सिलाइएको बोरा खोलेर बोरालाई उल्टो पारेर पुन सिलाइएको, बोरामा मिलको छाप र मिति नभएको, लकडाउनको समयमा क्वारेन्टाइनमा बसेकालाई बेवास्ता गरेको, लगायतका आरोप लगाउँदै जनप्रतिनिधिले जवाफ दिनु पर्ने माग राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय समाजसेवीहरुले चामलको रिपोर्ट अनुसार कारबाही हुने भनेपछि मात्रै सबैको रोहबरमा चामलको गोदाम खोलिएको थियो ।

वडा अध्यक्ष वीर बहादुर कटुवालले वडामा बचेको पैसा फ्रिज हुनु भन्दा राहत बाँड्ने सर्बदलीय निर्णय अनुसार राहत वितरण गर्न लागिएको बताए । नगरको निर्णय सम्झौता अनुसार शान्ति स्टोर्सले २१३ बोरा आफ्नो वडामा उपलब्ध गराएको वडा अध्यक्ष कटुवालले बताए ।

Related Articles

Back to top button
Close