News

पाँच लाख धरौटीमा बूढानिलकण्ठको ‘हिट एन्ड रन’ मुद्दाका अभियुक्त मल्ल थुनामुक्त

काठमाडौं, २ साउन । सर्वोच्च अदालतले मादक पदार्थ सेवन गरी पैदल यात्रुको मृत्यु हुने गरी सवारी दुर्घटना गराउने गोठाटारका २१ वर्षीय पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा छोडेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले बुधबार मल्ललाई ५ लाख धरौटीमा छोड्ने आदेश गरेको हो । अभियुक्त मल्ल गम्भीर मानसिक रोग लागेका र दमका रोगी भएको भन्दै न्यायाधीशद्वय मल्ल र शर्माले धरौटीमा छोड्ने आदेश गरेका हुन् ।

वि.सं. २०७६ मंसिर २८ गते मादक पदार्थ सेवन गरी अभियुक्त मल्लले चलाएको बा१४च ६१२३ नम्बरको कारले बूढानिलकण्ठ स्कुल गेटमा ठक्कर दिँदा गोरखा घर भई बुढानिलकण्ठमा बस्दै आएकी लीला देवकोटाको ज्यान गएको थियो ।

न्यायाधीशद्वय मल्ल र शर्माको आदेशमा कोरोना महामारीको अवस्थामा दमको बिरामी हाई रिस्क ग्रुपमा रहेकोले पनि उनलाई थुनामा राख्न नपर्ने उल्लेख गरिएको छ ।

साथै, उनले करिब ७ महिना थुनामा नै बसेर अनुसन्धानमा सहयोग गरिसकेकोले पनि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर हुने उक्त इजलासले भनेको छ ।

मल्लविरूद्ध प्रहरीले सवारी ज्यान मुद्दामा अनुसन्धान गरेर पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनलाई लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको हुनाले तीन देखि १० वर्षसम्मको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मल्लविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ बमोजिम उक्त कैद सजाय माग गरिएको थियो । त्यस्तै, उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको थुनछेक आदेशपछि उनी उच्च अदालत पाटन गएका थिए । जहाँ आफूलाई साधारण तारेखमा छोड्नु पर्ने उनको माग थियो । तर, उच्च अदालतले पनि उनको माग सुनेन, र उनलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर ग¥यो ।

दुबै अदालतका आदेशविरूद्ध मल्लको परिवार सर्वोच्च अदालत गएको थियो । दुर्घटना भएकै दिन उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Related Articles

Back to top button
Close