News

काठमाडौं उपत्यकामा थप ३ जनामा संक्रमण, कोरोना समुदायमा देखिएन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ ।

काठमाडौं उपत्यकामा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या निरन्तररुपमा कम देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि बुधबारमा काठमाडौका ७ जनामा कोरोना संक्रमित फेला पर्दा बिहीबार एकजनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार र बिहीबार दुबै दिन ललितपुर र भक्तपुरमा पनि कुनै संक्रमित फेला परेका थिएनन् । तर शुक्रबार भक्तपुरमा पुनः २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा गरिएको समूहगत परीक्षण र यसपछि गरिएका अन्य परीक्षणबाट समुदायमा कोरोना नफैलिएको प्रष्ट पारेको छ ।

काठमाडौं उपत्यकामा विदेशबाट आउनेमा र केही काठमाडौं भित्रका मानिसमा कोरोना देखिए पनि त्यस्ले समुदायमा आधार नबनाएको पनि मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले समुदायमा कोरोना नदेखिएको भन्दैमा काठमाडौं उपत्यकामा अझै पनि जोखिम कायम रहेकोले सचेतना अपनाउन काठमाडौं उपत्यकावासीलाई आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close