News

पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा कार्यरत मजदुर ज्याला नपाएपछि श्रम कार्यालय पुगे

काठमाडौं । ज्याला नपाएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापास्थित हिमालय–महालक्ष्मी चिया बगानका मजदुर श्रम कार्यालयको ढोका ढकढक्याउन पुगेका छन् । चिया बगानले कलडाउनको अवधिमा ज्याला र अन्य सेवासुविधा नदिएपछि उनीहरु श्रम कार्यालय पुगेका हुन् । बुधवार श्रम कार्यालय पुगेका उनीहरुले आफ्नो माग सुनुवाई गर्न ध्यानाकर्षण गराएका छन् । भद्रपुरस्थित श्रम कार्यालय पुगेका उनीहरूले समयमा ज्याला नपाएको तथा अन्य पारिश्रमिक पनि नदिएको गुनासो गरेका छन् । आफुहरुले पाउनुपर्ने ज्याला र सुविधा उपलब्ध गराइदिन समेत माग गरेका छन् ।

ज्यालाबाट सञ्चय कोषको पैसा काटे पनि खातामा जम्मा नगरेको, दुई वर्षअघि मजदुरले आन्दोलन गरेको समयमा सहमति भएको २५ सय रूपैयाँ र ०७५ साउन १ गतेदेखिको बढेको ज्याला पनि नदिएको उनीहरूको भनाइ छ । बगानबाट सेवानिवृत्त हुँदा पनि उपदान र बगानले सञ्चय कोषबापतको पैसा नदिएको उनीहरुको आरोप छ ।

बगान व्यवस्थापनले समयमा ज्याला नदिँदा परिवार चलाउन मुस्किल भएको मजदुर सुष्मा शाक्य बताएकी छन् । बगान धराशायी भएको भन्दै पछिल्लो समय व्यवस्थापन पक्षले १५ दिनमा दिने मौखिक सहमति गरेको छ । तर, अहिले महिना दिनमा पनि ज्याला दिन छाडेको मजदुरको भनाई छ ।
पूर्वराजपरिवारको स्वामित्वमा रहेको यो चिया बगान कुनै वेला आकर्षणको केन्द्र थियो । अरु बगानमा नभएका सेवा–सुविधा यो बगानमा थिए ।

Related Articles

Back to top button
Close