News

‘नेपाली अयोध्या’मा बढ्यो चहलपहल, के छ राम जन्मस्थलबारे प्रमाण जुट्ने सम्भावना ? (स्थलगत रिपाेर्ट)

चितवन, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको अभिव्यक्ति दिएपछि माडीबासीले माडीमा अयोध्या विकास क्षेत्र बनाउन माग गरेका छन् । माडीमा राम जन्मेको आधारहरू प्रशस्त रहेको भन्दै माडीबासीले यहाँ अयोध्याको विकास क्षेत्र बनाउन माग गरेको माडी नगरपालिका मेयर ठाकुर ढकालले बताउनुभयो ।

सीताराम गुफा, वाल्मीकि र अयोध्यापुरीमा रामसँगको सम्बन्ध जोडिएकाले यस क्षेत्रको अध्ययन गर्न आवश्यक रहेको मेयर ढकालले बताउनुभयो । भारतमा पर्ने अयोध्यामा पनि राम जन्मेको भन्ने विषय विवादित रहेकाले अहिलेसम्म राम जन्मलाई लिएर विवाद कायम नै रहेको मेयर ढकालको दाबी छ । ‘भारतको अयोध्यामा पनि रामको जन्मलाई लिएर सर्वमान्य मत छैन । भारतमै रामको जन्मलाई लिएर मन्दिरसमेत बनाउन नदिएको इतिहास छ,’ उहाँले भन्नुभयो, ‘राम जन्मेको ठाउँ हो भनेर अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।’

सीता गुफा पनि अयोध्यापुरीबाट नजिक भएको र वाल्मीकि पनि माडीमै भएकाले यसको अध्ययन आवश्यक रहेको उहाँको भनाई छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको छ । धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताउनुभयो ।

‘धार्मिक ग्रन्थ र यहाँका धार्मिक क्षेत्रबीचको सम्बन्धबारे गहन अध्ययन थालेका छौँ,’ उहाँले भन्नुभयोे, ‘सांस्कृतिक, धार्मिक र इतिहासविद्हरुसँग निरन्तर छलफल चलाएका छौँ ।’ उहाँले राम जन्मेको क्षेत्र माडीकै अयोध्यापुरी क्षेत्र भएको पुष्टि भएमा धार्मिक पर्यटकीय गतिविधि बढाउने योजना रहेको पनि बताउनुभयो ।

माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल समेत गरिएको छ । अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन् । यी रामायणसँग जोडिएका छन् ।

माडी–७ का युवा पण्डित सुदर्शन सुवेदी माडीका धार्मिक क्षेत्रबारे अध्ययनको खाँचो रहेको बताउनुहुन्छ । ‘ग्रन्थमा उल्लेख भएका धार्मिक क्षेत्रहरु प्रशस्तै छन् । तर, अध्ययन भएको छैन,’ उहाँले भन्नुभयो, ‘सबै धार्मिक क्षेत्रलाई समेट्दै पर्यटक भित्रिने गरी प्रचारप्रसार हुनुपर्छ ।’ उहाँले धार्मिक ग्रन्थमा उल्लेख भएको अयोध्या क्षेत्र माडीमै पर्ने आधार खोज्न विज्ञ संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।

चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक अयोध्यापुरी गाविसको वडा नम्बर ७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँ पर्छ, जुन अहिले चर्चामा छ । भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा रामसीता बसेको बैकुण्ठ ताल, रामसीता गुफालगायतका प्राचीन संरचना छन् ।

खोजबिन समिति बन्यो

माडी अयोध्यापुरी क्षेत्रमा रहेका पुरातात्विक महत्वका क्षेत्र तथा वस्तु पत्ता लगाउन जनस्तरबाट खोजबिन समिति गठन भएको छ । माडीकाे वडा ७, ८ र ९ का वडाध्यक्षसहित बसेको सर्वपक्षीय छलफलबाट समिति बनाइएको वडा ८ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

तत्कालीन अयोध्यापुरी गाविसका अध्यक्ष नारदमणि पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको छ । समितिमा जितबहादुर शाही, मोहदत्त काफ्ले, तिलु पुरी र मुक्ति न्यौपाने छन् । समितिले धार्मिक क्षेत्रबारेको सूचना एकीकृत गर्ने र खोजबिन गर्नेछ ।

ईटा र पुराना सिक्काहरु भेटिए

माडीको अयोध्यापुरी क्षेत्रमा पुरानो दरबारका अवशेष, ईंटा, घैँटा र पुराना सिक्काहरू भेटिएको छ । माडी नगरपालिका- ८ अयोध्यापुरीमा सो पुरातात्विक सामग्रीहरु भेटिएको वडाध्यक्ष कृष्णराज अधिकारीले बताउनुभयो । त्यहाँ भेटिएका सामग्रीहरु पुरातत्व विभागमा अध्ययनका लागि पठाइने अधिकारीको भनाइ छ ।

‘यहाँ हामी आउँदा घना जंगल थियो । हामीलाई पहिले के हो भन्ने थाहा थिएन,’ अध्यक्ष अधिकारीले भने, ‘यहाँ दुई कठ्ठा जति जमिनमा पुराना ईटा रहेका छन् । हाल भेटिएका सामग्री तथा उत्खनन् पश्चात् भेटिन सक्ने थप सामग्रीको अध्ययनपश्चात मात्रै अयोध्यापुरी क्षेत्र रामायणमा वर्णित अयोध्या रहे-नरहेको पुष्टि हुन सक्नेछ ।

रामको जन्मका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर माडीमा चहलपहल बढेको छ । कोरोना त्रासका बीचमा पनि माडीमा पत्रकार, राजनीतिक दल र बृद्धिजीवीहरुले अवलोकन गरिरहेका छन् । यससँग स्थानीयबासीमा पनि उत्साह थपिएको छ । उनीहरुले रामको जन्म भए-नभएको विषयमा पुष्टि गर्न सरकारलाई अनुरोध समेत गरेका छन् । तर, यहाँ विगतदेखिका अवशेषहरु भेटिएकाले यसको अध्ययन गरी यहाँको धार्मिक विकास गर्न उनीहरुको माग छ ।

Related Articles

Back to top button
Close