News

भारतमा कोरोना संक्रमणकाे नयाँ रेकर्ड, एक दिनमै ३७ हजार संक्रमित पुष्टि

काठमाडौँ, ४ साउन । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या तीव्र रूपमा बढिरहेको छ । त्यहाँ पछिल्ला ४ दिनयता दैनिक ३० हजारभन्दा बढी संक्रमित पुष्टि भइरहेका छन् । शनिबार यसले नयाँ रेकर्ड कायम गरेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार भारतमा हालसम्मकै सर्वाधिक दैनिक संक्रमितको संख्या ३७ हजार ४०७ पुष्टि भएको हो । यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या पौने ११ लाख पुगेको छ ।

तथ्यांकअनुसार आइतबार बिहानसम्म त्यहाँ कुल १० लाख ७७ हजार ८६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ हजार ८२८ पुगेको छ । शनिबार मात्रै त्यहाँ ५४३ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार ६७६ जनाले ज्यान गुमाएका थिए ।

अहिले भातरमा कोरोनाका सक्रिय संक्रमितहरू ३ लाख ७३ हजार ४०६ रहेका छन् । ६ लाख ७७ हजारभन्दा बढी मानिस चाहिँ सङ्क्रमणबाट मुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्रै २३ हजार ५५२ जना संक्रमणमुक्त भएको जनाइएको छ ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो ।

Related Articles

Back to top button
Close