News

बाढीपहिरोले जाजरकोटमा १२ सय घरपरिवार विस्थापित, अझै पुगेन राहत, पीडित सबै भोकभोकै

जाजरकोट, ४ साउन । जाजरकोटको वारेकोट गाउँपालिकामा बाढी र पहिरोबाट विस्थापित बनेकाहरु यतिखेर खाद्यान्न अभावमा बाँचिरहेका छन । न काम गरेर खाने ठाँउ छ न त कसैले सहयोग गरेको छ , न कमाउनलाई केहि अवसर छ । खाली त्रिपाल मुनीको बास त कतै धुलाम्य स्कुलका वेन्चमा पल्टिनुको विकल्प छैन ।

यतिखेर आकाशमा हेलिकप्टरको आवाज आए पछि राहतनै आएको हो कि भनेर आखाँ घुमाइरहेको बारेकोटका मनबीर नेपालीले आशा निराशामा बदलिने गरेको दुःखेसो व्यक्त गर्नु भयो ।

न त स्थानीय सरकारले आफुहरुलाई समेट्न सक्यो न त प्रदेश या संघले नै । नेता पनि विभिन्न संस्थाको थोरै स्याम्पल जस्तो पाल र कम्मल बोकेर आए त्यो पनि सवै पुगेन । अहिले पनि खाद्यान्न अभावमा एक छाक खाएर दिन कटाउन वाध्य भएको अधिकांश बाढीपहिरो पीडितको गुनासो छ ।

हेलिकप्टरले जगाएको आशा र निराशामा परिणत

शुक्रवार नै राहत लिएर हेलिकोप्टर बारेकोट आउँदैछ भन्ने सन्देश विस्थापित परिवारसम्म पुगिसकेको थियो । उनीहरु दिनभर हेलिकोप्टरकै प्रतीक्षामा रहे तर खराब मौसमका कारण शुक्रवार आउन नसकेको नेपाली सेनाको हेलिकोप्टर शनिवार दिउसो बारेकोटमा पुग्यो । उक्त हेलिकोप्टरले रेडक्रसका एक सय थान कम्मल र १५ थान त्रिपाल खसालेर एक जना घाईतेलाई लिएर नेपालगञ्ज फर्कियो

खाद्यान्न लगायतका खानेकुरा पाउने ठूलो आशामा रहेका विस्थापित परिवार गैरखाद्य सामग्री मात्र आएको सूचना पाएपछि निराश भएका छन । बारेकोट सिनचौरका मानबहादुर नेपालीले हेलिकोप्टरले खाने कुरा ल्याउला भनेको त कम्मल र त्रिपाल मात्र पो लिएर आएको बताउनु भयो । घर छोडेको आज १० दिन भैसक्यो घरमा भएको केही चामल र पिठो ल्याएर अहिले सम्म जेनतेन गुजरा चलायौ ।

अव के खाने राहत आउला भन्ने आसमा थियौ तर अहिले सम्म राहत पाईएन उहाले गुनासो सुनाउँदै भन्नु भयो ‘त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ । बाँच्नका लागि पनि नखाई भएन तर के खाने हेलिकोप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ ।’ पहिरो गए यता तीन पटक हेलिकोप्टर आईसकेको छ । तर हेलिकोप्टरले केही थान त्रिपाल, कम्बल र सात बोरा चामल मात्र त्यहाँ पुरयाएको छ ।

पहिरो प्रभावित बारेकोटमा खाद्य संकट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको नेपालीको दुखेसो छ । उहाँले भन्नुभयो ‘गत २६ गते देखि स्थानीय कालिका प्राविमा बसेका छौ । विद्यालयको छाना चुहिन्छ । खाने अन्न छैन । ’

घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो । के खाएर बाँच्ने हो उहाँले भन्नुभयो ‘यस्तै अवस्था केही दिन रहे भोकैले मरिएला भन्ने डर छ ।’

बारेकोट गाँउपालिकाका एक हजार ५५ परिवार विस्थापित

बाढीपहिरोको त्रासले अहिले बारेकोट गाँउपालिकाका एक हजार ५५ परिवार विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन । अरु पानी पर्न रोकिए पछि विस्तारै घर फर्किएका हुन तर धेरै परिवारसंग खाद्यान्न सकिदै गएको छ ।

बारेकोटमा किनेर खाने खाद्यन्न पनि पाईदैन । किन्ने खाद्य पनि नपाईएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनु भयो ।

बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्षदिनमा ५\६ महिना मात्र खान पुन्ने वाध्यता रहेको छ । अधिकांश मजदूरी गर्न भारत र सिजनको वेला यार्सा संकलनबाट कमाएको पैसालेनै जीविकोपार्जन गर्दे आएका छन् भने थोरै विभिन्न रोजगारीमा अन्य पालिकामा वस्ने गरेका छन ।

पालिकामा भरिमा ४,५ वटा मात्रै खाद्यान्न पसल, ढुवानी पुगेन

यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रका खाद्य पसल ४,५ ओटा बाहेक अन्य छैनन । मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्दे आएका छन तर खाद्य डिपोमा पनि चामल पुग्ने वित्तिकै सकिहाल्छ । कहिले काहि त बाटोबाटै स्थानीयले किन्ने समेत गरेका छन् । त्यसकारण पनि चामल स्टक रहने सम्भावनानै कम हुन्छ यो समयमा पनि महिना दिन देखि रित्तै हुँदा समस्या भएको हो ।

बारेकोटवासीको खाद्य संकट टार्ने खाद्य डिपो पनि रित्तै

बर्षेनी खाद्य संकट भैरहने जाजरकोटको बारेकोटका करीव २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । बारेकोटमा खाद्य संकट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य संकट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक बर्षमा थपसहित तीन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिदै आएको छ ।

तर आर्थिक बर्ष सकिदा पनि चामल ढुवानीको जिम्मा लिएका एन बी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्वीन्टल मात्र चामल ढुवानी गरेका छन । एक हजार ५८ क्वीन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य संकट परेको हो । ‘गाँउमा खाद्यन्नको अभाव छ , ठेकेदारले चामल ढुवानी गर्दैनन , गाँउमा उत्पादन भएको अन्न सकियो , पसल छैनन् , डिपो रित्तै छ, के किनेर खाने ’ विस्थापित बारेकोट गाँउपालिका १ धौलाकोटका टेकेन्द्र नेपालीले भन्नु भयो ‘सरकार हाम्रो समस्या पनि सुनिदेउ , हामी त साह्रै समस्यामा पर्यौ । ’

केही हुनेखाने बाहेक यतिवेला बारेकोटका सवै घरमा खाद्य संकट छ । लेकाली र भिरालो जमिन भएकाले अन्न उत्पादन पनि खासै हुँदैन । त्यहाँका बासिन्दा सधै खाद्य संस्थानकै चामलमा निर्भर छन विस्थापित परिवारमा मात्र होइन । विस्थापित नभएका परिवार सँग पनि खाद्य मौज्दात छैन ।

विस्थापित परिवारहरु विपन्न बर्गका

विस्थापित परिवारहरु विपन्न बर्गका छन । लकडाउनकै कारण धेरै मानिसहरु गाँउ फर्किएका छन । रोजगारीका अवसर छैनन् । त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाँउ तथा बस्तीहरु छियाछिया परेका छन् । मानिसहरु कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन तर अहिले सम्म कतैबाट सहयोग भएका छैन ।

बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउकम केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाँउपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन ।

विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । बारेकोट गाँउपालिकाका महेन्द्र शाहले भन्नु भयो ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । ’ राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५\६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।’

विश्व खाद्य कार्यक्रमको टोली वारेकोटमा

विस्थापित परिवारसँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन । तत्काल सरकारले खाद्यान्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । यो देखेर विश्व खाद्य कार्यक्रमको टोली बारेकोटको अवस्था बुझ्ना गाँउमानै पुगेको छ ।

पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानीयहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन्न । धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन ।

उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन । तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवश भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताउनु भयो । केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापितहरु भोकभोकै पर्ने अवस्था रहेको उहाको भनाई छ ।

उहाँले ‘हेलिकोप्टरबाट तत्काल खाद्यान्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकारसंग माग गर्नुभयो ।’ गत असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको ज्यान गएको छ भने एक जना अझै पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् ।

Related Articles

Back to top button
Close