News

मेलम्ची आयोजनामा भएको दुर्घटनाका मृतक तथा बेपत्ताका परिवारलाई क्षतिपूर्ति दिन मन्त्रालयले थाल्यो पहल

काठमाडौं, ४ साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका ईन्जिनियर सतिश कुमार गोइतको परिवारलाई उचित क्षतिपूर्ति र बीमालगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको छ ।

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा मेलम्ची खानेपानी आयोजना विकास समितिले उक्त दुर्घटनामा मृतक र बेपत्ता भएकाहरुलाई उचित क्षतिपूर्ति र बीमालगायतका सुविधा दिने प्रक्रिया अघि बढाउन निर्माण व्यवसायी सिनो हाईड्रोलाई निर्देशन दिएको हो ।

सुरक्षाका सबै उपायहरुको अबलम्बन गर्दा गर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकोमा मेलम्ची समिति स्तब्ध भएको जनाएको छ । राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा गत असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा ईन्जिनियर गोइतसहित अन्य चार जनालाई पानीले बगाएको थियो ।

पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता छन्, भने घटनामा घाइते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीको सहयोगमा सवारी चालक थापामगरको खोजी कार्य तीव्र पारिएता पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको आयोजनाले जानकारी दिएको छ ।

उक्त घटनाको सन्दर्भमा आइतबार ज्ञापन पत्र बुझाउन आएका प्रोगेसिभ ईन्जिनियरिङ एशोसियशन नेपाल प्रदेश नं. २ को प्रतिनिधि मण्डलसँगको भेटमा खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको उक्त घटनाले आफू निकै स्तब्ध भएको बताउनुभएको छ ।

मन्त्री मगरले सुरुङको परीक्षण गर्दा यस्तो घटना होला भनेर आफूले कल्पना समेत नगरेको बताउनुभयो । ‘राष्ट्र र जनताको निम्ति काम गर्दा गर्दै ईन्जिनियर गोईतको ज्यान गयो । सवारी चालक मगर अझै बेपत्ता हुनुहुन्छ । अन्य दुई जना घाइतेहरुको उपचार भइरहेको छ ।’

उहाँले भन्नुभयो, ‘यो घटनाले हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ । उहाँहरुले गरेको योगदान प्रति हामीले सधैं सम्झन हाम्रो तर्फबाट केही न केही गर्नेछौं ।’

Related Articles

Back to top button
Close