News

पहिरोले घर भत्काउँदा एकै परिवारका तीनको गयो ज्यान

काठमाडौं । धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।

आज बिहान ४ बजे आएको पहिरोले घर बगाउँदा उनीहरुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार विपतको खबर आए लगत्तै प्रहरी घटनास्थलमा पुगेर उद्धारमा लागेको छ । घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसैबिच अविरल वर्षापछि आएको पहिराका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् । अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेपछि ती घरमा आश्रित परिवार विचल्ली भएका छन् ।

गत असार २८ र २९ गते र पुनः आइतबार रातिदेखि हालसम्म पनि परिरहेको वर्षाले क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । त्यसैगरी नदी तथा खोला किनार आसपासमा बस्ने घरपरिवार पनि बाढी पहिराको कारण विस्थापित बनेका छन् ।

वर्षायाममा खोला नदी किनारतर्फ नजान प्रशासनले सबैलाई आग्रह गरेको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित शान्तिनगरका आठ घर परिवार पहिरोको उच्च जोखिममा परेसँगै घरबास छाडेर अन्यत्र सारिएको छ । नगरपालिकाको समन्वयमा उनीहरुको तत्कालको गाँस र बासको व्यवस्था वडाले गरेको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

Related Articles

Back to top button
Close