News

विवेकहीन समाजलाई गिज्याउँदै बेवारिसे शव बगिरह्यो, न उद्दार गरियो, नत कसैले विचरा भने

नेपालगञ्ज, ०६ साउन । मंगलवार राप्ती नदीमा शव आफ्नै गतिमा बगिरहेको थियो । त्यस क्षेत्रका स्थानीय आफ्नै धुनमा दाउरा निकाल्नमा व्यस्त थिए ।

राप्ती नदीको सिधनिया घाटमा करिव ५० बढी स्थानीयले नदीले बगाएर ल्याएको दाउरा निकाल्न भ्याई नभ्याई थियो । नदीले बगाएर ल्याएको दाउरा स्थानीयले निकाल्न सपरिवार लागेको देखिन्थ्यो ।

दाउरासंगै आफ्नै गतिमा एउटा शव आएपछि स्थानीयवासी तर्सिएका थिए । एकछिन उनीहरु दाउरा निकाल्न छोडेर बाहिर निस्कन्छन् । उनीहरु अचम्मित हुन्छन् । शव आफ्नै बेगमा तैरिदै बग्दै थियो ।

करिव १ किलोमिटर स्थानीय प्रहरी र स्थानीयवासी शवको बेगसंगसंगै हिड्छन् । शव निकाल्न कसैको केही विकल्प चल्दैन् । टाउको र खुट्टा पानी मुनि थियो भने शरीर पानी माथि तैरिदै पानीको बहावसंगै बग्दै थियो ।

बेवारिसे शव कहाँबाट आयो कसरी आयो कसैले चासो दिएनन् । शव आफ्नै गतिमा पानीसंगै जान्छ तर स्थानीय प्रशासन र स्थानीय नागरिक मौन नै बसेका थिए । बेवारिसे शव भन्दै कसैले निकाल्न चासो दिएनन् ।

प्रहरीले माथिल्लो निकायसमक्ष खवर गर्दा पनि केही निकास नआउदै शव टाढा पुग्छ र प्रहरी र स्थानीयवासी पुनः फर्किन्छन् । एकछिन कस्को शव होला भन्ने गुनगान हुन्छ तर स्थानीयवासी भने पुनः दाउरा निकाल्नमा नै व्यस्त देखिएका थिए ।

प्रहरीले बारम्बार स्थानीयलाई सम्झाउने गर्दा पनि उनीहरु अटेरीपन देखाउँदै बालवालिका प्रयोग गरेर ठूलो बाढीमा हाम फालेर पनि दाउरा निकाल्ने कार्य रोकेनन । बाढीको प्रवाह नगरी जोखिम मोल्दै बर्खायाममा दाउरा निकाल्ने उनीहरुको पेशा नै हो ।

शव बगिरहयो तर मानवीय भावना समेत त्यहाँ देख्नेहरु कसैमा जागेन । कस्को हो शव कसैले खोजविन गर्ने उदारता समेत देखाएनन् । समाजलाई निष्ठुरी ठान्दै बेबारिसे शव बगिरहयो, दाउरा टिप्नेहरु टिपिरहे । स्थानीय प्रहरी र प्रशासनले पनि कुनै चासो सम्म देखाएनन् ।

यता राप्ती नदीमा पानीको बहाव खतराको संकेतभन्दा तल रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना भने जारी गरेर एउटा दायित्वलाई भने पूरा गर्यो ।

Related Articles

Back to top button
Close