News

दुखद खबर, प्रदेश नं–२ मा कोरोनाबाट आठ जनाको मृत्यु, चार हजार ३२१ जना संक्रमित

दुखद खबर, प्रदेश नं–२ मा कोरोनाबाट आठ जनाको मृत्यु, चार हजार ३२१ जना संक्रमित
जनकपुर, साउन ९ । कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो । त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिए । कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ ।रासस

Related Articles

Back to top button
Close