News

तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिनको निधन

तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिनको निधन
एजेन्सी, ९ साउन । तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिन एमकापाको शुक्रबार निधन भएको छ । पूर्वी अफ्रिकामा शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका नेताका रुपमा चिनिनुभएका बेन्जामिनको ८१ बर्षको उमेरमा निधन भएको हो ।सरकारी अधिकारीहरुले उहाँको दार एस सलाम अस्पतालमा निधन भएको शुक्रबार घोषणा गरेको हुन् । तान्जेनिया बेलायतबाट सन् १९६२ मा स्वतन्त्र भएपछि उहाँ तेस्रो राष्ट्रपति हुनुभएको थियो । सन् १९९५ देखि २००५ सम्म दुई कार्यकाल उहाँले राष्ट्रपतिको रुपमा राष्ट्रको नेतृत्व गर्नुभएको थियो ।

“मैले तान्जेनियाका तेस्रो राष्ट्रपति बेन्जामिन एमकापाको निधन भएको खबर सुनेर निकै दुःखी भएको छु, यो हामी र हाम्रो मुलुकका लागि ठूलो क्षति हो,” राष्ट्रपति जोन मागुफुलीले टेलिभिजनमार्फत दिएको छोटो सन्देशमा भन्नुभएको छ ।उहाँको निधन हुनुको कारण भने केही नदिइएको समाचारमा जनाइएको छ । सन् १९३८ मा देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने एमट्वारामा उहाँको जन्म भएको थियो ।

उहाँले युगाण्डाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गर्नुभएको थियो भने पत्रकारको रुपमा काम गर्नुभएको थियो । त्यसपछि राष्ट्रपति जुलियस न्येरेरेको प्रेस सल्लाहकार हुँदै राष्ट्रपतिसम्म हुनुभएको थियो । उहाँ धेरै पटक अन्य राजनीतिक नियुक्तिका जिम्मेबारीमा पनि रहनु भएको थियो । उहाँले विदेश मन्त्री, सूचना तथा सञ्चारमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

राष्ट्रपति बन्नुपूर्व उहाँले अमेरिकाका लागि तान्जेनियाको राजदूतका भई जिम्मेवारी सम्हाल्नु भएको थियो ।उहाँ राष्ट्रपति भएको बेला देशको आर्थिक पुनर्संरचना, आर्थिक बृद्धि, उदारवादलगायतका क्षेत्रमा ठूलो परिवर्तन र विकास भएको मानिन्छ ।

Related Articles

Back to top button
Close