News

लकडाउन गरिएको इनरुवामा सांसद र व्यापारीसहित ४१ जनाको स्वाब संकलन

लकडाउन गरिएको इनरुवामा सांसद र व्यापारीसहित ४१ जनाको स्वाब संकलन
इनरुवा, १० साउन । समुदायमा कोरोना फैलन नदिन सुनसरी प्रशासनले सदरमुकाम इनरुवामा लकडाउनमा कडाई गरेको छ ।

स्थानीय व्यक्तिमा कोरोनाको संक्रमण देखा परेपछि कन्ट्याक टे«सिङलाई आधार मानी प्रशासनले नगर क्षेत्रमा लकडाउनसँगै परीक्षणको दायरा समेत बढाएको छ ।

संक्रमितको प्रत्यक्ष सम्पर्क र कन्ट्याक ट्रेसिङका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले नगर क्षेत्रमा हिजो शुक्रबारबाट लकडाउन लगाइएको छ । प्रशासनले लकडाउनलाई थप केही दिन जारी राख्ने समेत जनाएको छ ।

लामो समयको लकडाउन पछि केही दिन खुलेका बजार पछिल्लो लकडाउनको निर्णय सँगै पुनः बन्द भएको छ । बजारमा सर्वसाधारणको चहलपहलमा समेत कमी आएको छ ।

नगरपालिकाको कार्यालय र उद्योग वाणिज्य संघसंगको समन्वयमा लकडाउनको निर्णय गरेको प्रशासनले भीडभाड हुने क्षेत्रलाई लक्षित गरी नगरमा पीसीआर परीक्षण समेत थालेको छ ।

संक्रमित किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हुने गरेकाले समेत सोही कुरालाई आधार मानी स्थानीयसहित आसपासका ब्यापारी तथा सर्वसाधारणको परीक्षण थालिएको छ ।

इनरुवा अस्पतालले संक्रमित व्यक्तिको परिवार सहित छरछिमेकी र बजार क्षेत्रका ब्यापारी लगायत ४१ जनाको स्वाब संकलन गरिएको जनाएको छ । शनिबार इनरुवा अस्पतालमा संघीय सांसद सीताराम मेहता सहितको स्वाब संकलन गरिएको छ ।

सांसद मेहता समेत संक्रमित किनमेलका लागि पुगेको पसलमा पुगेको पाइएकाले उनको समेत परीक्षण गरिएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनु भयो ।

अस्पतालले सम्भावित जोखिमलाई मध्यनजर गरी सर्वपक्षीय बैठकको आग्रह अनुरुप स्वाब परीक्षण गरिएको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार संक्रमितको आउजाउ र घुलमेल बढी देखिएकाले स्वाम्पलका आधारमा व्यक्तिहरु छनौट गरी नगर क्षेत्रमा पीसीआर परीक्षण थालिएको छ ।

उहाँले पहिलो चरणमा संकलन गरिएका स्वाबको रिपोर्ट आएपछि आवश्यक निर्णय गरिने पनि बताउनुभयो ।

Related Articles

Back to top button
Close