News

पहिरोमा परि बाग्लुङमा स्काभेटर, टिपर र ट्रयाक्टर पुरिए- दुई चालक वेपत्ता

बाग्लुङ, ११ साउन । बाग्लुङमा स्काभेटर, टिपर र ट्र्याक्टर पहिरोमा परी पुरिएका छन् । जिल्लाको बाग्लुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोमा परि स्काभेटर, टिपर र ट्र्याक्टर पुरिएको हो । शनिबार राति ८ :३० बजेतिर खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

स्काभेटरका चालक भने सम्प्र्कमा आएका छन् । राति एक्कासी झरेको पहिरोमा तीनैओटा साधनहरु पूर्ण रुपमा पुरिएका छन् । उनीहरु ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा थिए । पुरिएका साधनहरु ध१च ४७ नंम्बरको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर रहेको छ । परिएको अर्को स्काभेटरको भने नम्बर खुलेको छैन।

‘पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ ।’ – प्रहरी निरीक्षक रिजालले भन्नुभयो। पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। तर निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त स्थान भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन।

सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए। अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।

Related Articles

Back to top button
Close