News

यूएईमा कोरोना संक्रमणबाट ३२ जना नेपालीको मृत्यु

२० साउन, दोहा ।यूएईमा हालसम्म कोरोना भाइरसका कारण ३२ जना नेपाली श्रमिकको मृत्‍यु भएको छ । विगत ४ महिनाको अवधिमा यूएईमा मृत्यु भएका १ सय १ जना नेपाली ज्यान गएको छ भने जस मध्ये ३२ जनाको कोरोना सङ्क्रमणको कारणले ज्यान गएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यूएईमा कोरोना तथा अन्य कारणले मृत्‍यु भएकाहरु मध्ये ६१ जना नेपालीको शवको यूएईमै अन्तिम संस्कार गरिएको छ ।अहिलेसम्म विभिन्न चार्टर उडानमार्फत १६ जना नेपालीको शव नेपाली पठाईसकिएको तथा बाँकी १६ जनाको शव नेपाल पठाउने तयारीमा रहेको दूतावासले जनाएको छ ।

यस्तै, कोरोना लगायत अन्य विभिन्न कारणले यूएईबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये हालसम्म १० हजार भन्दा बढी नेपाली नागरिकहरू स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

यूएईबाट नेपाल एयरलाइन्सले अगष्ट ६(आज) र ८ मा उडान गर्ने तय भएको छ भने हिमालय एयरलाइन्सले अगष्ट ५ मा उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

यस्तै, एयर अरेबियाले अगष्ट ६ र ७ मा, शारजहा तथा फ्लाई दुबईले आजै दुबईबाट उडान गर्ने छ । त्यस्तै इतिहाद एयरलाइन्सले अगष्ट ८ मा अबुधाबी विमानस्थलबाट उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

यूएईमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ६१ हजार १६३ जना पुगेको छ। उपचारपछि निको भएर घर फर्किनेको संख्या ५४ हजार ८६३ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ जना पुगेको छ ।

यूएईले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । यूएईमा के कति नेपाली श्रमिक कोरोनाबाट संक्रमित छन् भन्ने दूतावाससंग पनि तथ्याङ्क छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close